विदुर । सानिमा बैंक विदुर शाखाले सँस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तरगत दुई जना विद्यार्थीलाई जनही एक लाख रुपैयाँको छात्रबृत्ति प्रदान गरेको छ । त्रिभुवन त्रिशूली माध्यामिक विद्यालय, त्रिशूलीमा कक्षा ११ मा अध्ययनरत सरस्वती रिजाल र भैरवी माध्यामिक विद्यालय नुवाकोटमा कक्षा ११ मा अध्ययनरत अर्पण अधिकारीलाई कक्षा ११ र १२ को लागी दुई वर्षसम्म बार्षिक ५० हजार रुपैयाँको छात्रबृत्ति उपलब्ध गराइएको बैंकका विदुर शाखाका प्रबन्धक मधुप्रकाश खतिवडाले जानकारी दिनुभएको हो । उहाँको अनुसार शिक्षा क्षेत्रसंग सम्बन्धि समितिले सूचना जारी गरेर प्राप्त भएको निवेदन माथी सम्बन्धित विद्यालयमा पुगेर गरेको मूल्याङ्कनको नतिजाको आधारमा गरिएको सिफारिस अनुसार छात्रबृत्ति पाउने विद्याथीको नाम बैंकको शाखा कार्यालय विदुरले हिजो सार्वजनिक गरेको हो ।

बैंकको सँस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक वर्ष कक्षा ११ मा अध्ययनरत दुई जना विद्यार्थीलाई छात्रबृत्ति घोषणा गरेर दुई वर्ष अर्थात कक्षा ११ र १२ अध्ययनको लागी लाग्ने सबै खर्च बेहोर्दै आएको छ । विद्यार्थीलाई अध्ययनको लागी लाग्ने शुल्क, आवश्यक पाठ्यपुस्तक, कापीकलम सहितको सबै स्टेशनरी सामाग्रि बैंकले उपलब्ध गराउने छ भने व्यक्तिगत खर्चको लागी दुई वर्षसम्म मासिक दुई हजार रुपैयाँ समेत नगद उपलब्ध गराउदाँ एकजना विद्याथीले दुई वर्षको अवधिमा एक लाख रुपैयाँ प्राप्त गर्ने बैंकले जनाएको छ ।
बैंकले आर्थिक कारोबारको साथसाथै विद्यार्थीलाई उपलब्ध गराइएको छात्रबृत्तिले आर्थिक अबस्था कमजोर भएका एंव जेहेन्दार विद्यार्थीको अध्ययनमा समेत सहयोग पुगेको छ । उच्च शिक्षा अध्ययनको लागी छात्रबृत्तिले पढाई प्रतिको मनोबल समेत बृद्धि भएको छात्रबृत्ति प्राप्त गरेका विद्यार्थीहरु त्रिभुवन त्रिशूली माविका सरस्वती रिजाल र भैरवी माविका अर्पण अधिकारीले बताएका छन् ।
नुवाकोटमा सानिमा बैंकको शाखा कार्यालय सदरमुकाम विदुर सहित बेलकोटगढी नगरपालिकाको केन्द्र बाखघोर, किस्पाङ गाँउपालिकाको केन्द्र काहुले र शिवपुरी गाँउपालिकाको केन्द्र शेराबगरमा समेत गरेर चार स्थानबाट सेवा दिदै आइरहेको छ । जिल्लामा रहेका सबै शाखा कार्यालयले आर्थिक अबस्था कमजोर भएका एंव जेहेन्दार विद्यार्थीलाई कक्षा ११ र १२ को अध्ययनको लागी लाग्ने रकम छात्रबृत्तिको रुपमा हरेक वर्ष दुई–दुई जना गरेर एक वर्षमा नुवाकोटका ८ जना विद्यार्थीलाई उपलब्ध गराउदै आएको छ ।
स्थापनाको छोटो समयमै नुवाकोटमा धेरैको रोजाईको बैंकको रुपमा परिचित सानिमा बैंकले जिल्लाको दुर्गम मानिएको किस्पाङ र शिवपुरीमा शाखा विस्तारले ग्रामीण क्षेत्रमा आर्थिक कारोबारमा सहयोग पुराएको छ भने बेलकोटगढीको बाघखोरमा अन्य बैंकको शाखा कार्यालय स्थापना हुन नचाहेपछि शाखा विस्तार गरेर पालिकाबासीलाई सेवा पुराउदै आएको छ । यो सगैँ निजी तर्फको बाणिज्य बैंकमा नुवाकोटमा सबैभन्दा बढी शाखा रहेको बैंकको रुपमा समेत सानिमा बैंकले सेवा पुराउदै आएको हो ।
बैंकको स्थापनाले गाँउगाँउमा आर्थिक कोरोबारलाई सहज बनाई बैंकिङ्क कारोबार मार्फत अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुराएको छ । सानिमा बैंकले कृषि ऋणलाई सरल रुपमा उपलब्ध गराएसगै जिल्लाका किसानहरु व्यावसायिक तरकारी खेती तथा पशुपालनतर्फ समेत आकर्षित गराउन सहयोग पुग्दै आएको छ ।
16.12¡ÆC