नेपालमा पनि ‘ओमिक्रोन भेरियन्ट’को संक्रमण पुष्टि

मंसिर २०, २०७८ मा प्रकाशित | 494 views

त्रिशूली । नेपालमा पनि पहिलो पटक  ‘ओमिक्रोन भेरियन्ट’को संक्रमण पुष्टि भएको छ । अहिले केही समयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस सम्बन्धि जानकारी दिने जनाएको छ ।

के हो ओमिक्रोन भेरियन्ट ?
दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको नयाँ भेरियन्टको नाम विश्व स्वास्थ्य संगठनले ओमिक्रोन राखेको छ। यो ग्रिक अल्फाबेट हो ।  ९ नोभेम्बरमा लिइएको नमुना परीक्षणबाट २४ नोभेम्बरमा यो भेरियन्टको पुष्टि भएको हो। यसको वैज्ञानिक नाम बी.१.१.५२९ रहेको छ। यसको अर्थ यो भेरियन्ट बी.१ भेरियन्टबाट आएको भन्ने हुन्छ। नयाँ भेरियन्ट भाइरसको कुन पुस्ताबाट आएको हो भन्ने जानकारीका आधारमा वैज्ञानिक नाम दिने गरिन्छ। तर, वैज्ञानिक नाम प्रयोग गर्न तुलनात्मक रूपमा असजिलो हुने भएकाले जुन देशबाट नयाँ भेरियन्ट देखियो त्यही देशको नाम लिएर घृणा फैलाउने काम भएको भन्दै विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टको नाम ग्रिक अल्फाबेटबाट राख्न थालेको हो। यसअघि बेलायतमा देखिएको भेरियन्टलाई अल्फा, भारतमा देखिएकोलाई डेल्टा नाम दिइएको थियो।

चीनको वुहानमा पहिलो चरणमा देखिएको कोरोना भाइरसभन्दा यो भेरियन्ट निकै भिन्न रहेको छ। यसको मतलव वुहानमा भेटिएको भाइरसको पहिलो स्ट्रेनका आधारमा बनाइएका खोपहरू ओमिक्रोनका लागि कम प्रभावकारी हुन सक्ने अनुमान गरिएको छ। कोरोना भाइरसबारे जानकारहरूले यो भेरियन्ट तुलनात्मक रूपमा छिटो फैलन सक्ने र अहिलेसम्मकै बढी घातक हुन सक्ने बताएका छन्। यद्यपि, डब्लुएचओले यो भेरियन्ट कति खतरनाक छ र यसका लागि अहिले उपलब्ध भ्याक्सिनहरू कति प्रभावकारी हुन्छन् भन्ने विषयमा खोज तथा अनुसन्धान भइरहेको भए पनि अहिलेसम्म निकै कम मात्र जानकारी पाइएको बताएको छ।

खतराका आधारमा डब्लुएचओले नयाँ भेरियन्टलाई भेरियन्ट्स अन्डर मोनिटरिङ (भियुएम), भेरियन्ट्स अफ इन्ट्रेस्ट (भिओआई) र भेरियन्ट्स अफ कन्सर्न (भिओसी) गरी तीन भागमा वर्गीकरण गरेकाे छ । ओमिक्रोनलाई गत शुक्रबार डब्लुएचओले ‘भेरियन्ट अफ कन्सर्न’मा राखेको छ। योसँगै हालसम्म पाँचवटा नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्सर्नमा राखिएको छ, जसमा ‘अल्फा’, ‘बिटा’, ‘गामा’, ‘डेल्टा’ र ‘ओमिक्रोन’ रहेका छन्।

त्यस्तै, ‘भिओआइ’अन्तर्गत ‘म्यु’ र ‘ल्याम्ब्डा’ गरी दुईवटा भेरियन्ट रहेका छन्। कम खतरनाक भएका कारण ‘काप्पा’, ‘इटा’ वा ‘आयोटा’लाई भिओआइको लिस्टबाट हटाइएको छ। प्रायजसो दैनिक रूपमा नयाँ भेरियन्ट देखिने भए पनि मानिसका लागि खतरा हुन सक्ने गरी वंशाणुगत उत्परीवर्तन (जेनेटिक म्युटेसन) भएका भेरियन्टलाई मात्र भियुएम, भिओआइ र भिओसीमा वर्गीकरण गरिन्छ।

दक्षिण अफ्रिकी वैज्ञानिकहरूले यो भेरियन्टको स्पाइक प्रोटिनमा ३० पटकसम्म जिन परिवर्तन गर्नसक्ने क्षमता रहेको बताएका छन्। स्पाइक प्रोटिन भनेको मानिसको कोषमा आक्रमण गर्नका लागि भाइरसले बनाउने संरचना हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web