मौसम सफा हुन अझै केही दिन लाग्ने

मंसिर १०, २०७८ मा प्रकाशित | 400 views

काठमाण्डौ । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ । स्थानीय वायुको प्रभावका कारण देशको प्रायजसाे ठाउँमा आंशिकदेखि सामान्य बद्ली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्थानीय वायुको प्रभावसँगै वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यकामा तुवाँलो लागेको विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । ‘अहिलेको अवस्थालाई हेर्दा मौसम तत्काल सफा हुने देखिएको छैन’, मौसमविद् बासीले भन्नुभयो ।

मौसम सफा हुनका लागि वर्षा हुनुपर्छ वा तीव्र वेगले वायु चल्नुपर्छ । याे अवस्था नदेखिएकाले मौसममा सुधार हुने सम्भावना नदेखिएको बताइएको छ । अहिले प्रदेश नं १, वाग्मती, गण्डकी र पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा भइ प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव आठ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web