चिनियाँ राष्ट्रपति सीलाई थप शक्तिशाली बनाउने प्रस्ताव पारित

कार्तिक २६, २०७८ मा प्रकाशित | 537 views

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले राष्ट्रपति सी जिङपिङलाई थप शक्तिशाली बनाउने एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।

सीसीपीको केन्द्रीय बैठकको छैटौं सत्रमा ‘ऐतिहासिक प्रस्ताव’ पारित भएको हो । पार्टीका ‘महत्वपूर्ण उपलब्धि र ऐतिहासिक अनुभव’ सम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित भएको सीएनएनले जनाएको छ ।

पार्टीको १० वर्षे इतिहासमा तेस्रो पटक पारित भएको ‘ऐतिहासिक प्रस्ताव’मार्फत् राष्ट्रपति सीले आफ्नो अधिकारलाई दस्तावेजीकरण गर्दै पछिसम्म शक्तिशाली बन्ने र भविष्यसम्म आफ्नो विरासत राख्न चाहेको देखिन्छ ।

सीसीपीले ‘ऐतिहासिक प्रस्ताव’ पारित गरेको यो तेस्रो पटक हो । यसअघि सन् १९५४ र १९८१ मा पारित ऐतिहासिक प्रस्तावले माओत्से तुङ र देङ सियाओपिङको शक्ति एवं अधिकार थप मजबुत बनाएका थिए ।

सरकारी समाचार माध्यम सिन्हुआद्वारा बिहीबार प्रकाशित एक वक्तव्यमा सीको नेतृत्वमा पार्टीले ‘यसअघि समाधान हुन नसकेका तर एजेन्डामा रहेका कैयौं अप्ठ्यारा समस्या समाधान गरेको र अपेक्षा गरिएका तर हुन नसकेका कैयौं कार्य सम्पन्न भएको’ उल्लेख छ ।

त्यस्तै, प्रस्तावमा ‘पार्टीका सबै सदस्यले एकताबद्ध भई काम गर्ने कुरालाई सुनिश्चित गर्नका लागि केन्द्रीय समिति र पार्टीभित्र कमरेड सीको आधारभूत पोजिसनलाई दृढतापूर्वक समर्थन गर्ने र केन्द्रीय समितिको अधिकार, समितिको केन्द्रीकृत एवं एकीकृत नेतृत्वलाई ढाडस दिने’ उल्लेख छ ।

सन् २०१८ मा चिनियाँ संसदले संविधानबाट राष्ट्रपतिको कार्यकालसम्बन्धी समय सीमा हटाएपछि सीलाई जीनवभर शासन गर्ने बाटो खुलेको थियो । साथै, सीले आफ्नै राजनीतिक विचारधारा स्थापित गर्दै पार्टीको विधानमा उल्लेख गर्न सफल भइसकेका छन् । यस्ता कदमबाट राष्ट्रपति भएयता उनको महत्वाकांक्षा बढ्न थालेको प्रस्ट हुन्छ ।

यसअघि माओ र देङले मात्रै यस्तो कदम चालेका थिए । शुद्धीकरण अभियानसँगै सन् १९४५ मा पारित प्रस्तावले माओको एकल अधिकार स्थापित गरेको थियो भने १९८१ मा माओकालीन साँस्कृतिक क्रान्तिका त्रुटि औल्याउँदै पारित गरिएको प्रस्तावपछि देङको सुधारवादी विचारले पार्टीलाई मार्गदर्शन गराएको थियो ।

हाल आएर सीको नेतृत्वमा चीनले थप निरंकुश नीति अख्तियार गर्न थालेको छ । उनले पार्टीभित्र आफ्नो पकड थप बलियो बनाउँदै गएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्धमा समेत कडा तथा आक्रामक अडान राख्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web