काठमाडौँ । चीन सरकारले नेपाललाई थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच हिजो मङ्गलवार भएको टेलिफोन कुराकानीका क्रममा चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप दिने घोषणा गर्नुभएको हो ।
चीनले नेपाललाई यसअघि २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने सिनोभ्याक्सको १० लाख मात्रा उपलब्ध गराउने वचन दिएको छ ।
हिजो भएको एक घण्टा लामो फोन वार्तामा द्विपक्षीय सहयोग, वाणिज्य, व्यापार, विकास निर्माण लगायतका क्षेत्रमा मिलेर अघि बढ्ने र यसका लागि चीनले सहयोग गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्री खड्काले चीनमा पढ्न जाने विद्यार्थी जान नपाएको, चीनबाट नेपालमा सामान कम मात्रामा ढुवानी भइरहेको, नाका सहज बनाउनुपर्ने, चीनसँग नियमित हवाई उडान हुनुपर्ने लगायतका विषय राख्नुभएको थियो । यी सबै विषयमा मिलेर अघि बढ्न सकिने चिनियाँ विदेश मन्त्री वाङले बताउनुभएको थियो ।
परराष्ट्र मन्त्री खड्काले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै नेपालको विकास निर्माणमा चीनको सहयोगको प्रशंसा गर्नुभयो ।
17.45¡ÆC