मैलुङ-स्याफ्रुबेँसी सडक पूर्ण रूपमा सञ्चालन

अशोज २४, २०७८ मा प्रकाशित | 346 views

रसुवा । तीन महिनादेखि अवरुद्ध रहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दुरीको मैलुङ स्याफ्रुबेँसी सडक सञ्चालनमा आएको छ । वर्षाका कारण तीन महिनादेखि अवरुद्ध नाका जोड्ने छोटो दुरीको सडक शनिबारबाट सञ्चालनमा आएको हो ।

वर्षायाम कम भएसँगै १५ दिनको अथक प्रयासपछि नाका जोड्ने छोटो दुरीको मैलुङ स्याफ्रुबेँसी सडक शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘वर्षाले सडकका विभिन्न स्थानमा पहिरो गई बाटो अवरुद्ध भएको थियो, केही स्थानमा ब्लास्टिङ पनि गर्नुपर्यो,’ उनले भने, ‘अवरुद्ध सडक मर्मतको काम सुरु गरेको १५ दिनपछि पूर्ण रूपमा सञ्चालनमा ल्याउन सफल भयौँ ।’

सडक सञ्चालनमा आएसँगै साना तथा ठूला सवारीले मैलुङ–स्याफ्रुबेँसी सडकको बाटो प्रयोग गरेका छन् । बाटो अवरुद्ध हुँदा सवारीसाधनहरूले बेत्रावती कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी सडक प्रयोग गरेका थिए ।

राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडक खण्डको लम्बाइ १७ किलोमिटर रहेको छ । नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ ।

बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती–मैलुङ–स्याफ्रुबेसीको दुरी २९ किलोमिटर मात्रै छ । पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन ।

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्न पर्दैन । यस्तै, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै बेत्रावती पुग्ने सडकभन्दा स्याफ्रुबाट मैलुङ हुँदै बेत्रावती निस्कन पेट्रोलियम पदार्थको खपत कम हुने र छिट्टै गन्तव्यमा पुगिने हुँदा कन्टेनर चालकहरू यो सडकतर्फ आकर्षित हुँदै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web