दशैँमा रातो माटो र कमेरोले घर रग्ङ्गाउने चलन हराउँदै

अशोज २३, २०७८ मा प्रकाशित | 322 views

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–६ की सन्तुमाया बुढाप्रिथी विगतमा हरेक वर्ष दशैँ सुरु हुनु अगावै ढुंगा, माटो, काठको प्रयोग गरी बनाइएको आफ्नो घर लिपपोत गर्नका लागि आवश्यक रातो माटो लिन उहाँ दिदिबहिनीहरुसँग मिलेर हाँडेटारसम्म पुग्नुहुन्थ्यो । टाढाबाट ल्याएको रातो माटो, कमेरो र कालीमाटीले घर लिपपोत गर्न जुट्नुहुन्थ्यो ।

माटो, कमेरोले घर सिँगारेपछि बल्ल उहाँलाई दशैँ आएको मिठो आभास हुन्थ्यो । तर अहिले उहाँले घर लिपपोत गर्न छाड्नुभएको छ । अहिले गाउँमै सिमेन्ट लगायतका निर्माण सामग्री प्रयोग गरी नयाँ घर बनाएसँगै उहाँले दशैँमा पुराना घर रातो माटो, कमेरोले रङ्गाउन छाड्नुभएको हो ।

‘अहिले त गाउँ/गाउँका घरमा प्लाष्टर गरिएको छ । बजारमा थरीथरीका रङ्ग पाइन थालेका छन् । त्यसैले घर रङ्गाइन्छ,’ उहाँले भन्नुभयो, ‘विगतमा जस्तो रातो माटो, कमेरो र कालीमाटीले घर रङ्गाउने चलन अहिले हराउँदै गएको छ ।’

उहाँका अनुसार विगतमा दशैँ/तिहार नजिकिँदै गर्दा ग्रामीण क्षेत्रका बासिन्दालाई रातो माटो, कमेरो र कालीमाटीले घर सिँगार्ने चटारो हुन्थ्यो । टाढा–टाढा पुगेर रातो माटो, कमेरोले ल्याएर घर रङ्गाउँथे । घर चिटिक्क पारेपछि बल्ल दशैँ आएको आभास हुन्थ्यो । तर पछिल्लो समय गाउँ बस्तीमा यसरी घर रङ्गाउने, सिँगार्ने प्रचलन हराउँदै गएको उहाँ बताउनुहुन्छ ।

विगतमा दशैँ/तिहार सुरु हुनु अगावै घर रङ्गाउनका लागि रातो माटो, कमेरो र कालीमाटी लिनका लागि यहाँका स्थानीय समूहमा मिलेर टाढा–टाढासम्म पुग्थे । ढुंगा, माटो, काठको प्रयोग गरी बनाइएका प्राय: हरेक घर रातो माटो, कमेरो, कालीमाटीले लिपपोत गरि चिटिक्क रङ्गाइन्थ्यो, सजाइन्थ्यो । तर पछिल्लो समय गाउँमा पनि सिमेन्ट प्रयोग गरी घर निर्माण गरिनुका साथै बजारमा विभिन्न थरीका रङ्ग पाइन थालेसँगै रातो माटो, कमेरो, कालीमाटीले घर रङ्गाउने चलन हराउँदै गएको सुन्दरबजार नगरपालिका–६, ऐँशेलुचौरकी शोभा परियार बताउनुहुन्छ ।

‘माटो, कमेरोले लिपपोत गर्न गाह्रो हुन्छ । घर पोत्न २/३ लाग्छ,’ शोभा परियारले भन्नुभयो, ‘अहिले त फेरी गाउँ/गाउँमा सिमेन्ट प्रयोग गरी घर बन्न थाले । बजारको रङ्ग प्रयोग हुन थाल्यो । माटो, कमेरो, कालीमाटीले घर रङ्गाउने चलन त हराउँदै गयो नि !’

अहिले गाउँगाउँमा यातायातको सुविधा पुगेको छ । ग्रामीण क्षेत्रमा समेत धमाधम सिमेन्ट लगायतका निर्माण सामग्री प्रयोग गरी घर लगायतका अन्य भौतिक संरचना बन्ने गरेका छन् । बजारमा सजिलै थरीथरीका रङ्ग पनि आउन थालेका छन् । त्यसैले पनि विगतमा जस्तो रातो माटो, कमेरोले घर लिपपोत गर्ने प्रचलन हराउँदै जान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web