गोसाइँकुण्डसहित वरिपरिका कुण्डहरूको गहिराइ नापिँदै

अशोज २१, २०७८ मा प्रकाशित | 1123 views

काठमाडौँ । रसुवामा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड सहित वरिपरिका कुण्डहरूको शुक्रबारदेखि गहिराइ नापिने भएको छ । जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, कुण्डहरूमा पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रिया बारे जानकारी लिने उद्देश्यले पर्यटन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले गहिराइ नाप्न लागेको हो ।

यसका लागि अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा आभास अर्याल, नवीन गुरुङ र विधान भण्डारी गोसाइँकुण्ड गएका छन् । गोसाइँकुण्ड तथा त्यस वरपर रहेका कुण्डहरूको गहिराइ नापेपछि त्यस क्षेत्रमा पर्यटकीय क्रियाकलाप सञ्चालन गर्न, थप अध्ययन अनुसन्धान गर्न सहज हुने छ भने पछिल्लो समय विकसित हुँदै गएको रिसर्च एण्ड एजुकेशन टुरिजमको अवधारणालाई सहयोग पुग्ने छ ।

एक हप्ताभित्रमा गोसाइँकुण्ड तथा वरिपरिका कुण्डहरूको गहिराई नापिने अनुसन्धानकर्ता बासुदेव न्यौपानेले बताउनुभयो । ‘हामीले एक हप्तामा सकाउने लक्ष्य लिएका छौं,’ उहाँले भन्नुभयो, ‘तर उच्च हिमाली क्षेत्रमा काम गर्न आफूले सोचेको जस्तो हुँदैन त्यसकारण थप समय लाग्न सक्छ ।’

जलवायु, मौसम तथा गहिराइ नाप्न प्रयोग हुने सामग्रीको आधारमा पनि समय निर्धारण हुने उहाँको भनाइ छ । गोसाइँकुण्ड वरिपरि रहेको कुण्डहरूमा पानी कति छ भनेर जान्नु महत्वपूर्ण भएकाले पनि अनुसन्धान आवश्यक रहेको उहाँले बताउनुभयो ।

‘हामी एक ठाउँको मात्र गहिराइ नाप्दैनौं’, ‘उहाँले भन्नुभयो, ‘तालको सबैतिरको गहिराइ नाप्छौं ।’ तालको गहिराइको साथै टोलीले फिजियोकेमिकल पारामिटर पनि नाप्ने छ । अनुसन्धान पश्चात अनुसन्धानको प्रतिवदेन तयार पारिने छ । यसमा थप अनुसन्धान गर्नका लागि अन्य अनुसन्धानकर्तालाई सहयोग पुग्ने विश्वास लिइएको छ ।

एकेडेमीले हरेक वर्ष हिमाली क्षेत्रहरूमा विभिन्न अध्ययन अनुसन्धान गर्न मान्छेहरू छान्ने गरेको छ । गोसाइँकुण्ड वरपर १६ वटा कुण्ड पनि रहेका छन् । गोसाइँकुण्ड वरपर रहेका कुण्डमा सरस्वतीकुण्ड, भैरवकुण्ड, दुधकुण्ड, गणेश कुण्ड, चन्द्रकुण्ड, क्युमाछोकुण्ड, रक्तकुण्ड, बतासकुण्ड, सूर्यकुण्ड, आमाकुण्ड, रानीकुण्ड, ब्रदकुण्ड लगायतका छन् ।

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ । काठमाण्डौ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ने बाटो हो । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web