नेपालीहरुको महान पर्व बडादशै आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिनदेखि शुरु हुने नेपालीहरुको महान् पर्व वडा दशैँ आज घर, पूजाघर तथा कोटघरमा जमरा राखेर दशै पर्व सुरु गर्न लागिएको हो ।
भगवान श्रीरामचन्द्रले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्ति प्राप्तिका लागि शक्तिस्वरुपा महामायाँ भगवतीको आह्वान गर्न घडाको स्थापना गरी बालुवाको चौकीमा धान, मकै, गहुँ, जौ छरेर पूजा आराधना गरेको विश्वासमा आज हिन्दू धर्मावलम्बीले घटस्थापना गरि दशै पर्वको शुभारम्भ गर्न लागिएका छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा समेत मनाइने गरिएको छ ।
आजको दिन आ–आफ्नो घरको पूजाकोठा अथवा दशैंघर, कोटघरमा विधिपूर्वक दियो कलश र गणेशको पूजा गरी माटोको पूर्ण घडामा गाईको गोबर राखेर घाम नछिर्ने अँध्यारो स्थान बनाएर जौ अथवा मकै रोपेर जमरा राखी पञ्च रत्न चढाई शक्तिरुपी दुर्गा भवानीको पूजा आराधना गर्ने परम्परा रहेको छ ।
आज रोपेर उमारिने जमरा आगामी असोज २९ गते विजयादशमीका दिन मान्यजनबाट टीका ग्रहण गर्ने समयमा शीरमा लगाइने चलन रहेको छ । दशैंको टीका लगाउँदा अन्य फूलपातीको सट्टा समृद्धिको प्रतीकको रुपमा पहेंलो जमरा प्रयोग गर्ने गरिएको हो । आजैको दिन विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना समेत भन्ने गरिएको छ ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवी भवानीको प्रसाद ग्रहण गर्ने गरिएको छ । आज घटस्थापनाको शुभसाइत आज बिहान ११ बजेर ४६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।
बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइने गरिएको छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दशैँ घर, कोटघर र शक्ति पीठमा बलिसहित विशेष पूजा गर्ने गरिएको छ ।
आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई विजयादशमीका दिन बिसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र प्रसाद ग्रहण गर्ने गरिएको छ ।
परम्पराअनुसार घटनास्थापनाको उपलक्ष्यमा आज नुवाकोटमा रहेको विभिन्न कोटहरुमा जमरा राख्ने प्रचलन रहेको छ । आजको दिन नुवाकोट, रसुवा र धादिङ तीन जिल्लामा पर्ने ९ वटा कोटहरु बेल्कोट, भैरुमकोट, कलिकाकोट, मालकोट, धुवाँकोट, ब्यासकोट, सिमलकोट धैबुङकोट र सल्यानकोटमा रहेका दशैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी महासरस्वती लगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा नवरात्री पूजाको शुभारम्भ गर्ने गरिएको छ ।
दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गर्ने गरिएको छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एंव महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा हिन्दुधर्मालम्वीमा रहेको छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायतका राक्षसलाई बध गर्न लिएका ९ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा र आराधना गर्ने गरिएको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि पूर्णिमासम्म १५ दिनलाई दुर्गा पक्ष समेत भन्ने गरिएको छ । आजदेखि सुरु भएको दशै पर्व आगामी कार्तिक २ गते कोजागत पूर्णिमाको दिनसम्म मनाइने गरिएको छ ।
यस वर्ष असोज २६ गते मङ्गलवार फूलपाती पर्व परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्राध्यापक अधिकारीले बताउनुभएको हो । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइने गरिएको छ ।
मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजा गरिन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७ बजेर ११ मिनेटमा रहेको छ । असोज २७ गते बुधवार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । असोज २८ गते बिहीवार महानवमी पर्व मनाइने भएको छ । असोज २९ गते शुक्रवार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ बजेर १९ मिनेटमा विसर्जन गरिने साइत परेको छ ।
विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १० बजेर ०२ मिनेटमा साइत शुभ रहेको छ । यद्यपि त्यस दिनभर नै टीका ग्रहण गर्न मिल्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिने बताइएको छ ।
विजया दशमीका दिन बिहान ७ बनेर १ मिनेटमा तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत परेको छ ।
तुलजा भवानीलाई उक्त दिन बिहान ८ बजेर ३२ मिनेटमा स्थिर आसन गराइने साइत पनि समितिले निकालेको छ भने खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि सम्पन्न गरिने भएको छ । त्यही दिनको राती कोजाग्रत पूर्णिमा पर्व मनाइ यस वर्षको दशै पर्वको समापनि गरिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
दशै पर्वको अवसरमा दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिएको छ । नौ वटा दुर्गा भवानीको रुपलाई नवदुर्गा समेत पनि भन्ने गरिएको छ । नवरात्रीको उपलक्ष्यमा अहिले बिहान घरघरमा र भगवतीका मन्दिरहरुमा चण्डी र भगवती स्तोत्र पाठ गर्ने गरिएको छ ।
दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय किवदन्ती रहदै आएको छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्मविशेषको भनी शास्त्रीय रुपमा उल्लेख नभएकाले मानवको कल्याणको पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइने गरिएको हिन्दुधर्म शास्त्रमा उल्लेख गरिएको छ । बडादशैंको उपलक्ष्यमा आजदेखि नै नेपाल अधिराज्यभरका शैक्षिक सँस्था र न्यायिक निकायहरु कोजाग्रत पूर्णिमाको दिनसम्म बिदा दिने गरिएको छ ।
रोजगारी, अध्ययन एवम् अन्य काम विशेषले आफनो घर बाहिर रहेकाहरु दशैँ पर्वको आगमनसँगै आजदेखि नै घर फर्कने र परिवारका साथ बसेर दसैँपर्व मनाउने भएकाले पारिवारिक पुनर्मिलन गराउने पर्वको रुपमा समेत दशै पर्वलाई लिने गरिएको छ ।
दशै नजिकिएसगैँ शहरदेखि गाउँसम्म चलहपहल बढेको छ । कोरोना रोगको सक्रमणको जोखिमको कारण गएको वर्ष निराश भएको दशै पर्व यो वर्ष भने जोखिम कम हुदै गएको संकेतले उल्लासको साथ मनाउन अहिले दशैको पूर्वतयारीमा हिन्दुधर्मालम्वीहरु जुटिरहेका छन् ।
नेपालीहरुको साँझ पर्वको रुपमा रहेको दशैले अन्यायको बिरुद्धमा न्यायको जीतको रुपमा समेत मनाइने गरिएको छ । आज घटस्थापना गरेर सुरु गर्न लागिएको दशै पर्व आगामी पूर्णिमासम्म अर्थात १५ दिनसम्म मनाइने गरिएको छ ।
15.19¡ÆC