दशैँमा घर जान टिकट नै नपाइएको यात्रुको गुनासो

अशोज १८, २०७८ मा प्रकाशित | 666 views

काठमाडौँ । यात्रुहरूले दशैँमा घर जानका लागि बसकाे टिकट नै नपाइएको गुनासो गरेका छन् । अग्रिम टिकट खुलाएका व्यवसायीले पहिले नै टिकट बुकिङ भइसकेको भन्दै खाली हात फर्काउन थालेका छन् ।

पश्चिम र मध्यपश्चिम गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यानलगायतका जिल्लामा जानका लागि यात्रुले टिकट पाएका छैनन् । यातायात व्यवसायीले यात्रुको चाप हेरेर बसको सङ्ख्या बढाउने आश्वासन दिए पनि टिकट बुकिङ गर्न मानेका छैनन् ।

यस्तै दशैँमा घर फर्कनका लागि यात्रा कष्टकर बनेको भन्दै यात्रुले गुनासो गरेका छन् । बाढी र पहिरोले भत्किएका सडक मर्मत नभएकाले तीन घण्टा लाग्ने दुरी पार गर्न १०/११ घण्टासम्म लाग्ने गरेको उनीहरूले गुनासो गरेका हुन् । खाल्डाखुल्डीका कारण राजमार्गसमेत राम्रो नभएको र ग्रामीण सडकको हालत झनै खराब भएकाले घरसम्म पुग्न निकै कठिन भएको यात्रु सुमन हमालको गुनासो छ ।

बन्द सडक खुल्ने वा नखुल्ने वा बिग्रिएका सडक मर्मत हुने/नहुने अन्याेलकै बीच अग्रिम टिकट बुकिङ खोल्नुपरेको यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौला बताउनुहुन्छ । सडक विभागले बाढी र पहिरोका कारण बन्द भएका सबै सडक दशैँसम्ममा सञ्चालनमा आउने र अहिले पनि यात्रुले सहज तरिकाले यात्रा गरिरहेका भन्ने दाबी गलत भएको उहाँको भनाइ छ ।

खाल्डाखुल्डीका कारण यात्रामा निकै समस्या भएको गुनासो हरेक दिन धेरै आउने गरेको सिटौलाले बताउनुभयो । कतिपय सडक मर्मतका क्रममा बाटोमा गिटी, बालुवा र ढुङ्गा थुप्रिएकाले दुर्घटनाको जोखिमसमेत बढेको उहाँको भनाइ छ ।

लामो दुरीमा प्रायः ठूला गाडी चलाइने भएकाले र साँघुरा बाटोका कारण दुर्घटनाको झनै जोखिम बढेको छ ।

दशैँकै लागि भनेर अहिलेसम्म झन्डै तीन लाख यात्रुमात्रै काठमाण्डौ उपत्यकाबाट बाहिरिएका छन् । यो वर्षको दशैँमा ७/८ लाख मानिस बाहिरिने अनुमान महासङ्घले गरेको छ । सीमित गाडीका कारण भिडभाड भए पनि सङ्ख्या थप गर्नका लागि बाटोकै कारण अलमल भएको महासचिव सिटाैला बताउनुहुन्छ । दशैँको बेलामा यात्रुलाई सहज तरिकाले गन्तव्यसम्म पुर्‍याउनका लागि के गर्ने, कसरी गर्ने भन्नेबारे अहिलेसम्म सरकारले कुनै छलफल नै नगरेको उहाँकाे गुनासाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web