कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख नाघ्यो

अशोज १७, २०७८ मा प्रकाशित | 773 views

काठमाडौँ । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या सात लाख नाघेको छ । पछिल्लो समय अमेरिकाले कोरोना खोपमा जोड दिँदै आएको भए पनि सबै अमेरिकी नागरिकलाई कोरोना खोप उपलब्ध भइसकेपछिको अवस्थामा पनि एक लाख मानिसको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । अमेरिकाले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना खोप लगाउन प्रेरित गर्दै आएको छ ।

सबैभन्दा पहिला अमेरिकाले आफ्ना नागरिकहरुलाई कोरोना खोप सुनिश्चित गरेकाले सबैभन्दा पहिला अमेरिका यो महामारीबाट बाहिर आउन सक्ने अनुमान सुरुमा गरिएको भए पनि अमेरिकामा लाखौं मानिसले कोरोना खोप लिन अस्वीकार गरिरहेका छन् ।

अमेरिकामा पछिल्लो साढे तीन महिनामा एक लाख मानिसको मृत्यु भएको हो । यो अवधिमा सबैभन्दा धेरै मानिसको मृत्यु फ्लोरिडा राज्यमा भएको छ । यो अवधिमा निकै संक्रामक मानिएको डेल्टा भेरियन्टसहितको संक्रमण फैलिएकाले मृत्यु हुनेको दरमा पनि उल्लेख्य वृद्धि भएको जानकारहरुले बताएका छन् । जुन महिनाको मध्ययता फ्लोरिडामा मात्र कोरोना संक्रमणको कारण १७ हजार जनाको मृत्यु भएको छ । त्यस्तै टेक्सासमा १३ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

गत जुनको मध्ययता मृत्यु हुने एक लाखमध्ये ७० हजारभन्दा धेरै खोप नलगाएका मानिसहरु थिए । संक्रमणको कारण मृत्यु हुने खोप लगाएका मानिसलाई पनि खोप नलगाएका मानिसबाट कोरोनाका संक्रमण सरेको थियो । खोप कार्यक्रम प्रभावकारी बनाउन सकेको भए मृत्यु हुनेमध्ये ९० प्रतिशतको ज्यान बचाउन सकिने जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web