धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिलाको सफल आरोहण

अशोज १५, २०७८ मा प्रकाशित | 1257 views

काठमाडौँ । संसारको सातौं अग्लाे आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने याे हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गर्नुभएको हो।

काठमाण्डौको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा जानुभएको थियो।

सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिनुभयो।

‘धवलागिरि हिमालमा नेपाली महिलाले पहिलो पटक आरोहण गरेका हुन्’, उहाँले भन्नुभयो, ‘धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन।’

श्रेष्ठसँगै जानुभएकी माया शेर्पालगायतले आरोहण गरे/नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताउनुभयो । पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गएकाे वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेकाे आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो।

पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । शेर्पा (पथ प्रदर्शक) पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गर्नुभएको हो । पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुनुहुन्छ । उहाँले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमादब्लम हिमालको आरोहण गर्नुभएको थियो ।

पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएकाले गएकाे याममा धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा गर्न लागेको बताउनुभएको थियो।​

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web