विश्व मुटु दिवसमा  वीरगञ्जमा ‘थोरै हिँड्नुस्’ कार्यक्रम

अशोज १३, २०७८ मा प्रकाशित | 436 views

वीरगञ्ज । आजविश्व मुुटु दिवस । हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर मुटु दिवस मनाइन्छ । यसवर्ष ‘युज हर्ट टु कनेक्ट’ भन्ने नाराका साथ मुटु दिवस मनाइँदैछ ।

सन् २०२१ को विश्व मुटु दिवसले भावना र मानवीयतालाई जोड्ने उद्देश्य लिएको छ । अझ कोभिडपछिको विश्वमा डिजिटल जानकारी र उपचार पद्धतिलाई यस वर्ष विशेष महत्व दिइएको छ ।
विश्व मुुटु दिवसको अवसरमा वीरगञ्जमा ‘वाक ए थन’ (थोरै हिँड्नुहोस) र्‍याली निकालिएको छ ।

वीरगञ्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जन स्वास्थ्य प्रवर्धन शाखा र नारायणी बयोधा अस्पतालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

मुटु स्वस्थ राख्नका लागि अपनाउनुपर्ने सावधानीका बारेमा विभिन्न सचेतनामुलक सन्देशसहित वीरगञ्जको घण्टाघरबाट निस्किएको र्‍याली नारायणी अस्पतालमा पुगेर सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीले ‘स्वस्थ मुुटु, सशक्त जीवन’, ‘स्वस्थ मुुटुका लागि हिँड र दौड’, ‘सुखी जीवनका लागि मुटु स्वस्थ राखौं’, ‘मुटुमा ऊर्जा थपौं, जीवनलाई सशक्त बनाऔं’, ‘हृदयाघातको जोखिमबारे जानी राखौं’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

कोण सभामाबोल्दै मुटुरोग विशेषज्ञ डाक्टर राधा भट्टराईले मुुटु स्वस्थ राख्न ध्यान दिनुपर्ने बताइन् ।

‘मुटु स्वस्थ राख्नु नै महत्वपूर्ण कुरा हो । त्यसका लागि नुन कम खाने, तारेको पोलेको खानु हुँदैन, तेल कम खानुपर्छ । मोटोपनलाई घटाउनुपर्छ’ उनले भनिन्, ‘ नियमित व्यायाम गरेर मुटु स्वस्थ राख्नुपर्छ ।’

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले स्वस्थ हावापानी, धुलो धुँवारहित वातावरण कायम राख्न सके मुुटु स्वस्थ हुने बताए । ‘शरीरलाई समय दिनुपर्छ, बिहान बेलुका जतिखेर सकिन्छ हिँड्नुपर्छ’ उनले भने, ‘मुटुलाई स्वस्थ राख्नुपर्छ ।’

मुटु शरीरको अभिन्न अंग हो, यसको स्वास्थ्य वातावरणसँग जोडिएको हुन्छ, स्वस्थ हावापानी पाउँदा मुटु स्वस्थ हुन्छ, धुँलो धुँवाबाट बच्नैपर्छ । स्वस्थ खानपान गर्नैपर्छ’ उनले भने, ‘बिहान बेलुका जुन बेला हुन्छ, आधा एक घण्टा शारीरिक व्यायम, वा हिँडडुल गर्नुपर्छ ।’

वीरगञ्ज महानगरपालिकाले विपन्न वर्गलाई मुटु रोगको उपचारका लागि सिफारिश गर्ने गरेको छ । आर्थिक वर्ष ०७५/०७६ मा ४४, ०७६/७७ मा ९७ र ०७७/०७८ मा ७३ जनालाई मुटु रोगको उपचारका लागि सिफारिश गरिएको जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले जानकारी दिए ।

विपन्न नागरिकलाई मुटुमा पेसमेकर तथा स्टेन्ट राख्नु परेमा, एब्लेशन गर्नुपरेमा, मुटुको भल्भ पूर्णरुपमा क्षति भएको या मुटु फेल भएको उपचारका लागि सरकारले १ लाख रुपैयाँसम्म अनुदान दिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web