मुद्दा खारेजसँगै २ सय वर्ष पुरानो फल्चाको पुनर्निर्माण सुरु

मुद्दा खारेजसँगै २ सय वर्ष पुरानो फल्चाको पुनर्निर्माण सुरु

काठमाडौँ । पाटन उच्च अदालतले ललितपुरको पुल्चोकमा रहेको २ सय वर्ष पुरानो समय् फल्चाको पुनर्निर्माण विरुद्धमा परेको मुद्दा खारेज गरेसँगै समय् फल्चाको पुनर्निर्माण सुरु भएको छ।

उच्च अदालतले समय् फल्चाको पुनर्निर्माण विरुद्धमा परेको मुद्दा हिजो खारेज गरेसँगै समय् फल्चाको पुनर्निर्माण अघि बिहान ६ बजेदेखि सुरु भएको हो ।

ऐतिहासिक समय् फल्चा पुनर्निर्माण कार्य रोक्न सब्बु सिंह भण्डारीले दायर गरेको मुद्दा उच्च अदालत पाटनका न्यायाधीश किरणप्रसाद पोखरेल र माधवप्रसाद पोखरेलको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेश निष्क्रिय हुने भन्दै फल्चा निर्माण सुरु गर्न हिजो आदेश दिएको हो ।

यसभन्दा अघि पनि कुपण्डोल–जावलाखेल सडक खण्ड अन्तर्गत पुल्चोकमा रहेको ऐतिहासिक समय् फल्चाकाे निर्माण रोक्न श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले पटक-पटक सर्वोच्च अदालत, जिल्ला अदालत ललितपुर र उच्च अदालत पाटनमा मुद्दा दायर गर्दै आएको थियो ।

तर, सर्वोच्च अदालत र उच्च अदालतका विभिन्न आदेश तथा फैसलाहरु लुकाएर निवेदन दिएको पाइएपछि जिल्ला अदालत ललितपुरले अन्तरिम आदेश निष्क्रिय गर्दै फल्चा निर्माण सुरु गर्न आदेश दिएको थियो ।

त्यही आदेश अनुसार गएको भदौ २४ गते फल्चा निर्माण सुरु भएको केही दिनमै अर्को मुद्दा दायर भएका कारण पुनर्निर्माण रोकिएकोमा आजदेखि फेरि सुरु भएको हो।

प्रतिक्रिया

TOP