तरकारीको मूल्य बृद्धि, उपभोक्तालाई छाक टार्नै मुस्किल

अशोज १०, २०७८ मा प्रकाशित | 571 views

काठमडौँ । काठमाण्डाैको बजारमा हरियो तरकारीको मूल्य लगातार बढेको छ । बजारमा विशेष गरी साग, सिमी, बोडी, काउली, गाजर, करेला महँगो छ ।

काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमै आज तने बोडी किलोको १२० देखि १४० रुपैयाँ थोक मूल्य छ । यस्तै, ब्रो काउली र बरेला किलोको १५० देखि २ सय रुपैयाँ, भटमासको कोसा एक सय देखि १२० रुपैयाँ, स्थानीय काउली किलोको ७० देखि ८० रुपैयाँ, गाँजर १३० देखि १५०, गान्टे मुला ८० देखि ९० रुपैयाँ, घिउसिमी ८० देखि ९० रुपैयाँ, घिरौँला ७० देखि ८० रुपैयाँ, चम्सुरको साग २२० देखि २५० रुपैयाँ, रायोको साग १८० देखि २ सय रुपैयाँ, टाटेसिमी १४० देखि १६० रुपैयाँ थोक मूल्य छ ।

बजारमा यी तरकारीको भाउ हेरी स्कुस, मुला, बन्दा र गोलभेँडाकाे भाउ केही सस्तो छ । आज ठूलो गोलभेँडा किलोको ६० देखि ७० रुपैयाँ, टनेलको सानो गोलभेँडा किलोको ३२ देखि ३७ रुपैयाँ, स्थानीय सानो गोलभेँडा किलोको २० देखि ३० रुपैयाँ, रातो मुला किलोको ४० देखि ५०, सेतो मुला २० देखि २५ रुपैयाँ, लौका ४० देखि ५० रुपैयाँ, स्कुस १५ देखि २० रुपैयाँ र हरियो फर्सी किलोको २० देखि ३० रुपैयाँ थोक मूल्य छ ।

तरकारीको यो मूल्य खुद्रामा झन् दोब्बर भन्दा धेरैले बढी हुन्छ । धेरैजसो उपभोक्ताले खुद्रा पसलमा नै तरकारी खरिद गर्ने गरेकाले उनीहरुको भान्सा महँगाे हुँदै गएको छ । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बर्खे तरकारीको सिजन सकिएको र हिउँदे तरकारीको उत्पादन सुरु भइनसकेकाले हरियो तरकारीको मूल्य बढेको हो।

समितिका उपनिर्देशक विनय श्रेष्ठले अहिले बजारमा सात सय टन तरकारी भित्रने गरेको बताउनुभयो । काठमाण्डाै उपत्यकामा काभ्रे, मकवानपुर, धादिङबाट तरकारी भित्रिरहेको छ । मागको तुलनामा हरियो तरकारीको आयात र उत्पादन कम हुँदा भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताउनुभयो ।

परबल, भिण्डी, काउली, खुर्सानी जस्ता तरकारीको उत्पादन नेपालमा कम भएको छ भने भारतबाट पनि यी तरकारी अहिले खासै भित्रिएका छैनन् । भारतबाट अहिले धेरैजसो आलुप्याज मात्रै भित्रिने गरेको छ । बजारमा हरियो तरकारीसँगै दैनिक उपभोग्य वस्तुको भाउ पनि बढिरहेकाले भान्सा झन् महँगो बन्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web