चितवन । कोरोना संक्रमणको दोस्रो लहर कम हुँदै गएपछि चितवनको प्रमुख पर्यटकीय केन्द्र सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरु देखिन थालेका छन् ।
पर्यटकहरु बढ्न थालेपछि पर्यटन तथा होटल व्यवसायीहरु उत्साही छन् । दशैं, तिहार जस्ता नेपालीहरुका ठूला चाडपर्वहरु सुरु भएसँगै आन्तरिक पर्यटकहरुसमेत अझै बढ्ने विश्वास व्यवसायीहरुको छ ।
पर्यटकहरुको चहलपहल देखिएपछि लामो समयसम्म बन्द रहेका होटलहरुको सरसफाइ गर्ने, कामविहीन भएर विदामा पठाइएका कर्मचारीहरुलाई बोलाउने लगायतका काम थालिएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । उनका अनुसार व्यवसायीहरुले होटल रंगरोगन, ब्यूटिफिकेशन, सरसफाइ जस्ता काम गरिरहेका छन् ।
लगातारजस्तो विदा पर्दा सौराहामा पर्यटकहरुको संख्या ह्वात्तै बढ्ने गरेको अध्यक्ष भट्टराईले बताए । ‘दशैं तिहार जस्ता ठूला पर्व आउँदैछन्, लामो विदा हुँदा आन्तरिक पर्यटकहरु आउन थालेका छन्,’ अध्यक्ष भट्टराईले भने, ‘पर्यटकहरु देख्दा आशावादी छौं ।’ सरकारले कर्मचारीहरुलाई दिने पर्यटकीय काज विदामा पर्यटकहरुलाई तान्ने कार्यक्रमहरुसमेत राख्ने सोच व्यवसायीले बनाएका छन् ।
17.5¡ÆC