सामूहिक हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

अशोज ४, २०७८ मा प्रकाशित | 426 views

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डका मुख्य योजनाकारसहित चार जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय खाँदबारीमापत्रकार सम्मेलन गरी हत्याकाण्डमा प्रत्यक्ष संलग्न रहेकाे आरोपमा मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

घटनाको मुख्य योजनाकार मृतक तेजबहादुरका काकाको छोरा भाइ खड्गबहादुर रहेको प्रहरी अनुसन्धानबाट खुलेको सङ्घीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताउनुभयो । उहाँको अनुसार, उनीहरुले तेजबहादुरको हत्या गर्न सामूहिक योजना बनाएको खुलेको छ ।

अभियुक्तहरुले रणबहादुर कार्कीको घरमा घटना घटेको अघिल्लो दिन हत्या योजना बनाएर भोलिपल्ट बिहान तेजबहादुर कार्कीलगायत परिवारका ६ जनाको सामूहिक हत्या गरेको स्वीकार गरेका छन्।

पक्राउ परेका अभियुक्तले आफूलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने, सधैँ गालीगलौज गर्ने गरेकाले हत्या गरेको बयान दिएको सङ्घीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दाहालको भनाइ छ । यसअघि प्रहरीले अभियुक्त रणबहादुरको जेठा छोरा वर्ष २५ का लोकबहादुर कार्कीलाई भाद्र २५ गते सार्वजनिक गरेको थियो ।

लोकबहादुरले आफू एक जनाले सबैको हत्या गरेको स्वीकार गरे पनि घटनाको प्रकृति अध्ययन र लोकबहादुरको बयानका आधारमा थप अन्य व्यक्तिकाे संलग्नताको आशङ्कामा प्रहरीले अनुसन्धान थप अगाडि बढाएको थियो ।

गएको भदौ २१ गते ८५ वर्षीया बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती, ५८ वर्षीय छोरो तेजबहादुर, ५२ वर्षीया बुहारी कमला, ३२ वर्षीया नातिनी बुहारी रञ्जना, र ८ वर्षीय पनाति दिपेन, ५ वर्षीय पनातिनी गोमाको विभत्स हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web