गल्छी–त्रिशूली–मैलुङ सडक कालोपत्रेको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई निर्देशन

भदौ २९, २०७८ मा प्रकाशित | 799 views

रसुवा । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको कालोपत्रेको कामलाई तीव्रता दिन सडक आयोजनाले निर्देशन दिएको छ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाले कालोपत्रेको जिम्मा लिएको ठेकेदार कोभी टुन्डी रसुवा जेभीलाई आइतबार कार्यालयमा बोलाई कामलाई तीव्रता दिन निर्देशन दिएको हो।

वर्षायामपछि कम हुन थालेसँगै गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर सडक कालोपत्रेको कामलाई तीव्रता दिन निर्देशन दिएको सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए। चाडपर्वहरू नजिकिएको र यात्रुहरूको चाप बढ्ने हुँदा यात्रुहरूको सहजताका लागि कामलाई तीव्रता दिन निर्देशन दिएको उनले बताए।

दसैँअघि बेत्रावतीसम्म कालोपत्रेका काम सम्पन्न गर्न निर्देशन दिएको भण्डारीले बताए। हालसम्म पहिलो र दोस्रो तहको कालोपत्रे भइसकेको स्थान सफा गर्ने, गल्छीदेखि बेत्रावतीसम्मको सडकमा कालोपत्रे गर्नुपर्ने, सडकको खाल्डाखुल्टी पुरी सवारीसाधन सहज रूपमा सञ्चालनका लागि तीवताका साथ काम गर्न अनुरोधसमेत गरिएको उनले बताए।

२०७३ कात्तिक २२ मा कोभी टुन्डी रसुवा जेभीले गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर सडकको चौडा बनाउने, नाला, कल्भर्ट र वाल निर्माण गरी सडक कालोपत्रेका लागि ठेक्का पाएको थियो। ०७५ भदौ ५ सम्ममा काम सम्पन्न भइसक्नुपर्ने थियो। तर, तोकिएको अवधिमा सम्पन्न हुन नसकेपछि त्यसयता हालसम्म ६ पटक भ्याद थप भइसकेको छ। मुआब्जा वितरणमा विवाद, अदालतको स्टे अर्डर, कोरोना र विद्युतका पोलहरू समयमा नहट्नु, वर्षातको समयमा काम गर्न नसक्नुलगायत कारणले समेत काममा ढिलाइ भएको ठेकेदारले बताउँदै आएको छ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक रूपान्तरणकारी (गेम चेन्जर) राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त आयोजना हो। अहिले गल्छीदेखि रसुवागढीसम्म तीन खण्डमा विभाजन गरेर काम भइरहेको छ। पहिलो खण्ड गल्छीदेखि मैलुङसम्म, दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुबेंसीसम्म र तेस्रो खण्ड स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको हो। स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म चिनियाँ पक्षले काम गर्ने भनिए पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web