भारत । भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका सङ्क्रमित भेटिएका छन् । निपा भाइरसबाट केरलामा १२ वर्षका एक जना बालकको ज्यान गइसकेको छ । यसले नेपालमा पनि जोखिम बढाएको छ ।
निपा भाइरस जनावरहरुबाट मानिसमा सर्ने एक प्रकारको प्राकृतिक सङ्क्रामक रोग हो । फलफूलहरु खाने खालका चराचुरुङ्गीहरु तथा जनावरहरु विशेषगरी चमेरो प्रजातिबाट यो रोग सर्ने सम्भावना हुन्छ ।
चमेरो लगायतका प्रजातिले फलफूल खाँदा फलफूलमा रोगको सङ्क्रमण हुने र त्यही फलफूल मानिसले खाँदा यो रोग सर्ने जोखिम हुन्छ । सङ्क्रमित व्यक्तिको दिसा, पिसाब र रगतबाट पनि यो रोग सर्ने जोखिम रहन्छ ।
छिमेकी भारतमा देखिएका धेरैजसो रोगहरु नेपालमा पनि देखिने गरेका इतिहासहरु प्रशस्तै छन् । मानिसबाट मानिसमा, जनावरबाट मानिस वा जनावरबाट जनावरमा देखिने धेरैजसो रोगहरु भारतमा फैलिएसँगै नेपालमा पनि फैलने गरेको छ ।
कोरोनाको पहिलो र दोस्रो लहरमा भारतमा जोखिम बढ्ने बित्तिक्कै नेपालमा पनि जोखिम बढेको थियो । विगतमा भारतमा देखिएका अरु महामारीहरु पनि भोग्यौँ । यसका कारण दक्षिण भारतमा देखिएको निपा भाइरस सङ्क्रमणको जोखिम नेपालमा पनि देखिएको हो ।