काठमाडौँ । आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको सापु रोगका बिरामी बढ्न थालेका छन् ।
पछिल्लो समय पहाडी जिल्ला गुल्मी, पाल्पा, कास्कीलगायत काठमाण्डौ उपत्यकामा समेत सापु रोगका बिरामीहरु बढ्न थालेका हुन् । सापु रोगको सङ्क्रमण बढ्न थालेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।
सिजनल हाइपरएक्युट पानुभिआइटिस अर्थात सापु रोगको सङ्क्रमण सेतो पुतलीबाट हुने दृष्टि विषेशज्ञ डा. अरुण ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार पुतलीलाई छोएर आँखामा हात लगेमा सङ्क्रमण हुन सक्छ ।
बत्तीको वरिपरि घुम्ने सेतो पुतलीको शरीरमा हुने हानिकारक रसायनको असरले आँखाको दृष्टि नै गुम्ने भएकाले जोगिन डा. ढुङ्गानाको सुझाव छ । विशेषगरी भदौदेखि मंसिर महिनासम्म सेतो पुतलीको प्रजनन सुरू हुने भएकाले यो बेला सापुका बिरामी धेरै देखिने गरेका उहाँले बताउनुभयो ।
कहिलेकाहीँ र कमैमा देखिने भए पनि यो आँखामा लाग्नेमध्येको खतरनाक रोग रहेको आँखा विशेषज्ञले बताएका छन् ।
आँखाको दृष्टि नै गुम्ने खतरा भएकाले सकेसम्म सेतो पुतलीको सम्पर्कमा नआउनु नै सापु रोगबाट बच्ने एकमात्र उपाय हो ।
सेतो पुतलीले छोएको दुई दिनभित्र अस्पताल नपुगे दृष्टि नै गुम्ने खतरा धेरै हुने भएकाले सचेत हुन डाक्टर ढुङ्गानाको सुझाव छ । नेपालमा २०३२ सालमा पहिलो पटक यो रोग देखिएको थियो।
यो रोगको निदान तथा उपचार आँखा विभाग तथा अस्पतालहरुमा मात्र गरिन्छ । सापुको आकस्मिक उपचार सेवा, आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रियामार्फत् समेत गरिन्छ । समयमा उपचार भएमा मात्र आँखा निको हुन्छ । नत्र आँखाको दृष्टि नै गुम्न सक्छ।
17.32¡ÆC