काठमाडौँमा यसपालिकै सबैभन्दा ठूलो वर्षा

भदौ २१, २०७८ मा प्रकाशित | 826 views

काठमाडौँ । काठमाडौँमा यसपालिकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार काठमाण्डौमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो तथ्याङ्क आइनसकेकाले अझ यो भन्दा धेरै वर्षा भएको हुन सक्ने मौसमविद् अर्यालले बताउनुभयो । यसपालि बर्खा लागेपछि पहिलो पटक छोटो समयमा एकै पटक यति ठूलो वर्षा भएको पनि मौसमविद् अर्यालले बताउनुभयो । पछिल्लो एक घण्टामा भक्तपुरको नगरकोटमा पनि ४१ मिलिमिटर पानी परेको छ ।

मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । यस्तै, बङ्गालबाट आएको जलवाष्पयुक्त हावाकै प्रभावका कारण लुम्बिनी र २ नम्बर प्रदेशका धेरै ठाउँमा पनि पानी परिरहेको छ। आज दिनभरि नै मौसम बद्ली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

यस्तै, भोलि पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा पानी पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web