श्रीलङ्कन एअरलाइन्सको नेपाल उडान आजबाट

भदौ १५, २०७८ मा प्रकाशित | 469 views

काठमाडौँ । श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक विमान श्रीलङ्कन एअरलाइन्सले आजबाट काठमाण्डौमा उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार श्रीलङ्कन एअरले मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ, काठमाण्डौ–कोलम्बो दुईतर्फी उडान गर्ने भएको हो ।

आज बिहान नौ बजेर ४० मिनेटमा एक सय ४० जना यात्रु लिएर आउने जहाज १० बजेर ४० मिनेटमा एक सय ५० जना यात्रु बोकेर फर्कनेछ । श्रीलङ्कन एअरलाइन्सको नेपालका लागि जनरल सेल्स एजेन्ट जीएसए रहेको जेनिथ ट्राभलका प्रमुख दीपक मैनालीले काठमाण्डौ र श्रीलङ्काबीचको धार्मिक पर्यटनलाई जोड्ने हिसाबले यो उडान सुरु भएको जानकारी दिनुभयो ।

अहिले श्रीलङ्काले पर्यटकलाई आगमन स्वीकृति दिइएको छ । काठमाण्डौ–कोलम्बोसहित श्रीलङ्कन एअरलाइन्सले कोलम्बोलाई ट्रान्जिट बनाएर साउदी अरेबियाको दमाम, रियाद, कतारको दोहा, दुबई र माल्दिभ्समा पनि उडान गर्नेछ ।

दुवै देशकाे धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले श्रीलङ्कनको नियमित उडान सुरु गर्न लागेको मैनालीले बताउनुभभाे । नेपालबाट खाडी देश जाने कामदारको चाप छ । विमान सेवाहरूले यसलाई राम्रो बिजनेसका रूपमा हेरेका छन् । श्रीलङ्कन एअरलाइन्सले पनि खाडी देश जानेका लागि कोलोम्बो ट्रान्जिट बनाएर सेवा दिने योजना सार्वजनिक गरेको छ ।

नेपाली विमान सेवाले योजना बनाएर पनि सेवा विस्तार गर्न गाह्रो परिरहेका गन्तव्यलाई श्रीलङ्कन एअसलाइन्सले ताकेको छ । नेपाल वायु सेवा र हिमालयनले गर्ने अन्तर्राष्ट्रिय उडानका गन्तव्य नै उसको पनि रोजाइमा परेको हो ।

कम्पनीले सुरुमा काठमाण्डाैबाट साउदीका दुई गन्तव्य दमाम र रियाद उडान गर्नेछ । दुबई, माल्दिभ्स, कतार लगायत पाँच गन्तव्यमा नियमित उडान सुरु गर्ने उहाँले जानकारी दिनुभयाे ।

साउदीको दमाम र रियादका लागि सुरुवाती भाडा दर ५१ हजार, ६५ हजार रुपैयाँ निर्धारण गरिएको छ भने दोहाका लागि २३ हजार रुपैयाँ सुरुवाती भाडा दर निर्धारण गरिएको छ ।

यसैगरी कम्पनीले माल्दिभ्स उडानका लागि सुरुवाती भाडा दर ४६ हजार रुपैयाँ निर्धारण गरेको छ ।

तत्काल कोलम्बो ट्रान्जिट बनाएर लेबर ट्राफिकलाई मध्यनजर गर्दै साउदी, दोहा, माल्दिभ्सतर्फ सेवा सुरु हुनेछ । सेप्टेम्बर दोस्रो हप्तादेखि अस्ट्रेलिया, लन्डन, जापान लगायत गन्तव्यमा पनि नियमित उडान गर्नेछौँ । कोरोना सङ्क्रमण हटेसँगै निकट भविष्यमा बौद्ध धर्मावलम्बीलाई मध्यनजर गर्दै माल्दिभ्समा पनि उडान गर्ने योजना बनाएका छाैँ, महाप्रबन्धक मैनालीले भन्नुभयाे ।

कम्पनीले पछिल्लो समय भारतीय वायु सेवा कम्पनी स्पाइस जेटको अफलाइन सेवा सञ्चालन गर्दै आएको छ ।

यो गन्तव्यमा तीन दशक अगाडि नेपाल वायु सेवा निगमको बोइङ ७२७ जहाजमार्फत साताको एउटा उडान हुने गरेको थियो । निगमको बोइङले काठमाण्डाै–कोलम्बो–माले दुईतर्फी उडान गरेको थियो । श्रीलङ्कन एअरलाइन्सले नेपालमा पहिलो पटक दुईतर्फी नियमित उडान गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web