भागरथीका परिवारलाई आर्थिक सहयोग

भदौ १३, २०७८ मा प्रकाशित | 385 views

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की स्वर्गीय भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपालीज अशोसियसन अफ भिक्टोरिया, गैरआवाशीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाले संकलन गरेको दुई लाख ७० हजार ८४० रुपैयाँ विकासमा सिर्जनशीलता नेपाल नामक संस्थामार्फत् स्वर्गीय भागरथीका परिवारलाई हस्तान्तरण गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त रकमको चेक भागरथीका परिवारका सदस्यलाई शनिबार धनगढीमा हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री भट्टले थोरै भए पनि आर्थिक सहयोगले पीडित परिवारलाई राहत पुग्ने बताए । उनले प्रदेश सरकारले पनि भागरथीका आफन्तलाई पाँच लाख रुपैयाँ प्रदान गरेको जानकारी दिए।

समाजमा बढ्दो बलात्कार र हत्याका घटना नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्र्नुपर्ने उनले बताए । ‘विदेशमा बस्ने नेपालीले पीडामा रहेका परिवारलाई गरेको सहयोग सराहनीय छ’ मुख्यमन्त्री भट्टले भने ।

भागरथीका आफन्तलाई सहयोग जुटाउन नेपालीज असोसियसन अफ भिक्टोरिया, गैरआवाशीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरिया च्यारिटी क्रिकेट म्याच आयोजना गरेको थियो । च्यारिटी म्याचमा सहभागीहरुले व्यक्तिगत रुपमा गरेको सहयोग रकम र मल्टीडाइनामिक रिअल स्टेटले गरेको सहयोग गरी दुई लाख ७० हजार ८४० रुपैयाँ संकलन भएको सहयोग हस्तान्तरण कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिएका नेपालीज अशोसिएसन अफ भिक्टोरियाका उपाध्यक्ष प्रेमराज उप्रेतीले जानकारी दिए ।

दोगडाकेदार–७, स्थित सनातन माविमा कक्षा १२ मा अध्ययनरत भागरथी गत माघ २१ गते बुधबार विद्यालयबाट घर जाने क्रममा बेपत्ता भएकी थिइन् । दुई दिनपछि हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web