कास्की । कास्कीको गगनगौँडास्थित नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयमा एक करोड लिटर डिजेल अटाउने दुई ठूला भर्टिकल ट्यांक (भण्डारण गृह)को द्रुत गतिमा निर्माण अघि बढेको छ ।
आयल निगमले १४ वर्षपछि पोखराबाट पूर्वाधार निर्माणको काम सुरु गरेको हो । गगनगौंडास्थित डिपोमा फायर फाइटिङ स्तरोन्नति, लोड–अनलोड सेड विस्तार, डिपोको सुरक्षा प्रणाली सुधारसहित ५०–५० लाख लिटर डिजेल भण्डारण गर्न मिल्ने दुई ठूला भर्टिकल ट्यांक निर्माणको गत २७ कात्तिकमा शिलान्यास गरिएको थियो । त्यसयता निर्माण कार्य निरन्तर अघि बढिरहेको सो परियोजनाको प्रमुख तथा निगमका निमित्त निर्देशक इन्जिनियर मनोज ठाकुरले जानकारी दिए ।
उनका अनुसार २४ लाख लिटर पानी अटाउने अर्को भर्टिकल ट्यांक निर्माणको कामसमेत सुरु भएको छ । यी सबै पूर्वाधार तयार गर्न ७७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । परियोजना प्रमुख ठाकुरले अबको एक बर्षभित्र सम्पूर्ण निर्माण सकेर सञ्चालनमा ल्याउने योजनाअनुसार काम भइरहेको बताए ।
‘अहिले डिजेलको दुईवटा र पानीको एउटा भर्टिकल ट्यांक निर्माणलाई प्राथमिकता दिएका छौँ । अहिलेसम्म तीनवटै भर्टिकल ट्यांकलाई १८ फिटमुनिबाट उठाएर जमिनको सतहभन्दा माथि ढलान उठाइएको छ’ ठाकुरले भने, ‘अब फलामको पातालाई जोडेर भर्टिकल ट्यांक जडान धमाधम थाल्छौँ ।’ निगमले पहिलोपटक जर्मन प्रविधि प्रयोग गरी भर्टिकल ट्यांक निर्माण थालेको हो । अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपिआई) मापदण्डको सामान र प्रविधि प्रयोग गरी निर्माण अघि बढाएको निगमले जनाएको छ ।
भर्टिकल ट्यांक, डिजेल पम्पिङ सेड, आयल वाटर सेपरेटरलगायत निर्माणका लागि काठमाडौं विश्वविद्यालयका दुईजना कन्सल्ट्यान्ट इन्जिनियरहरूले सुपरीवेक्षण गरिरहेका छन् । उनीहरूका अनुसार दैनिक बिहान ७ देखि बेलुका ६ बजेसम्म निर्माण कार्य हुने गरेको छ । निर्माणमा दक्ष, अदक्ष गरी २४ जना मजदुर र कर्मचारी खटिएका छन् । उनीहरू डिपो परिसरमा अस्थायी टहरा बनाई बसेका छन् ।
डिपो परिसर भित्रै मजदुर बसिरहेका कारण कुनै पनि दिन नरोकी निर्माण कार्य अघि बढिरहेको छ । अबको दुई महिनाभित्र डिजेलको दुईवटा र पानीको एउटा भर्टिकल ट्यांक तयार गर्ने गरी काम अघि बढेको ठाकुरले बताए । त्यसपछि भर्टिकल ट्यांकमा डिजेल पठाउने पम्पिङ सेड, आयल वाटर सेपरेटर, भर्टिकल ट्यांकको वरीपरी पिच सडक निर्माणलगायतका काम अघि बढ्नेछन् ।
डिजेलको भर्टिकल ट्यांकलाई नौ फिट अग्लो र दुई सय ३३ फिट लामो पर्खालले घेरिएको छ । कुनै कारणवश भर्टिकल ट्यांकको डिजेल चुहिए पर्खालले घेरेर राख्छ, बाहिर जान दिँदैन । ‘दुईमध्ये एउटा भर्टिकल ट्यांकको सबै डिजेल चुहियो भने पनि यो पर्खालभित्र अटाउने गरी डिजाइन भएको छ, पर्खालभन्दा बाहिर जान पाउँदैन’ ठाकुले भने, ‘यसरी चुहिएको डिजेललाई पर्खाल बाहिर राखिने आयल वाटर सेपरेटरले तानेर पाइपका माध्यमबाट पुनः भर्टिकल ट्यांकमै पठाउने प्रणाली जडान हुनेछ ।’
आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले परियोजनालाई लिएर निकै उत्साहित भएको बताए । उनले साबिककै जग्गालाई उपयोग गरी भण्डारण गृह निर्माण थालेकाले निगमको अन्य खर्च पनि जोगिएको बताए । ‘यो परियोजना सम्पन्न भएपछि गण्डकीमा एक महिनालाई पुग्ने तेल व्यवस्थापन गर्न कुनै चिन्ता हुनेछैन । अन्यत्र पनि यस्तो पूर्वाधार बनाउन हामीलाई थप हौसला पुग्नेछ’ उनले भने, ‘निकट भविष्यमै चितवनको लोथरमा सबैभन्दा ठूलो भण्डारण गृह बन्नेछ । त्यहीँबाट गण्डकीको भण्डारण गृहलाई पनि तेल लैजान सहयोग हुनेछ ।’
19.43¡ÆC