काठमाडौँ । काठमाण्डौ उपत्यकाको फोहर अझै एक हप्ता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै एक हप्ता लाग्ने हुँदा फोहर व्यवस्थापनमा थप ढिला भएको हो ।
पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले थप समस्या भएको सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिनुभयो । साँघुरो ठाउँ तर लामो समयदेखि फोहर व्यवस्थापन गरिँदै आएको ठाउँ सिसडोलमा व्यवस्थापन गरिएकाले फोहरको ढिस्कोलाई पार गरेर अहिले बञ्चरेडाँडामा गाडी जान सक्ने अवस्था छैन ।
काठमाण्डौ महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले सहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्याण्डफिल साइट निर्माणको काम सम्पन्न नगर्दा थप समस्या भएको बताउनुभयो । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।
28.92¡ÆC