काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उच्च शिक्षा अध्ययन गर्नेमा छात्रकोभन्दा छात्राको संख्या बढी रहेको पाइएको छ ।
त्रिवि योजना निर्देशनालयको तथ्यांकअनुसार उच्च शिक्षा अध्ययन गर्नेमा छात्रकोभन्दा छात्राको संख्या बढी देखिएको हो । शैक्षिक सत्र २०७६/०७७ मा ४ लाख १५ हजार ७७७ विद्यार्थीमध्ये छात्राको संख्या २ लाख २२ हजार २८७ र छात्रको संख्या १ लाख ८३ हजार ४९० रहेको तथ्यांकमा उल्लेख छ ।
त्रिवि योजना निर्देशनालयका प्रमुख डा. ऋदिश पोख्रेल त्रिविमा उच्च शिक्षा लिने छात्राको संख्या शैक्षिक सत्र २०७३/०७४ देखि क्रमशः बढेको बताउँछन् ।
शैक्षिक सत्र २०७३/०७४ मा १ लाख ९९ हजार ५७० जना, २०७४/०७५ मा २ लाख ६ हजार ९२८ र २०७५/०७६ मा २ लाख १५ हजार ८८४ जना छात्राले उच्च शिक्षा लिएका छन् ।
छोरी-बुहारीले पनि पढ्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ भन्ने चेतना बढ्दा उच्च शिक्षा लिने छात्राको संख्या बढेको डा. पोखरेल बताउँछन् । उनी भन्छन्, ‘पहिला छोरीलाई किन धेरै पढाउने भन्ने सोच थियो । समयसँगै बुहारी पनि पढाउनुपर्छ है भन्ने सोच बढ्दै गएको देखिन्छ । अहिलेका छोरी- बुहारीले आफ्नो पढ्न पाउने अधिकार उपयोग गरिरहेका छन् ।’
19.8¡ÆC