पुनर्निर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गरिने

भदौ ९, २०७८ मा प्रकाशित | 238 views

काठमाडौँ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको पुनर्निर्माणकाे बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । बुधवार सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका काम सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । जसअनुसार विपद् व्यवस्थापन सम्बन्धी बाँकी कामलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सम्पन्न गरिनेछ । त्यसैगरी अन्य निकायहरू सहरी विकास मन्त्रालयले निजी आवासको पुनर्निर्माण सम्बन्धी कामलाई व्यवस्थापन गर्ने, स्वास्थ्य संंस्था र सरकारी भवनहरूको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र शिक्षा मन्त्रालयले विद्यालयको, विश्वविद्यालयको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्बन्धी कामलाई व्यवस्थापन गर्नेछ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २० औँ निर्देशक समितिको बैठकले प्राधिकरणले अहिलेसम्म गरेको कामलाई धन्यवाद दिँदै पुनर्निर्माणमा बाँकी रहेका कामलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।’

२०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका भवनहरूको पुनर्निर्माणको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web