नेपालबाट ५६ मेगावाट विद्युत् भारत निर्यात

भदौ ९, २०७८ मा प्रकाशित | 278 views

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात हुने बिजुलीको मात्रा घटाउँदै निर्यात बढाउन थालेको छ ।

प्राधिकरणको भार प्रेषण शाखाका अनुसार अस्ति सोमवार नेपालले भारतमा ५६ मेगावाट बिजुली निर्यात गरेको छ । त्यसै दिन जम्मा २३ मेगावाट आयात भएको थियो । आज ५० मेगावाट निर्यात भइरहेको छ भने ३३ मेगावाट आयात भइरहेको छ ।

नेपालले २०७५ सालदेखि इनर्जी बैंकिङमार्फत भारतमा बिजुली पठाउन थालेकोमा यो अहिलेसम्मकै धेरै परिमाणको निर्यात भएको प्राधिकरणले जनाएको छ । यसअघि गएको असारसम्म पनि भारतबाट अधिकतम दुई सय मेगावाटसम्म बिजुली आयात भएकोमा अहिले आयात २३ मेगावाटसम्ममा झरेको हो ।

अहिले विद्युत् प्राधिकरण तथा सहायक कम्पनीबाट आठ सय ५९ मेगावाट र निजी क्षेत्रले चार सय ८३ मेगावाट गरी नेपालमा १३ सय ६५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । माथिल्लो तामाकोसीको बिजुली उत्पादन भएसँगै यसले आयात घटाउन र निर्यात बढाउन ठूलो भूमिका खेलेको प्राधिकरणले जनाएको छ ।

नेपालले भारतसँग विद्युत् आयात गर्न थालेको ३० वर्षपछि मात्रै पहिलो पटक आयात भन्दा निर्यात धेरै गर्न सफल भएको भार प्रेषण शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web