म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाको बाँझो जमिनमा सहकारीले जडीबुटी खेती गर्न थालिएको छ । खाली तथा बाँझो रहेको सार्वजनिक जग्गामा एक सहकारीले अतिस जातको जडीबुटी लगाएको हो ।
गुर्जामा सञ्चालित हिमाली कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध किसानले अतिसको व्यावसायिक खेती सुरु गरेका हुन् । खाली तथा पाखो जमिनका रुपमा रहेको सार्वजनिक जग्गामा सामुदायिक वनसँगको सहमतिमा सहकारीमा आबद्धरूकिसानले अतिस जातको जडीबुटीको खेती सुरु गरेका धवलागिरि गाउँपालिका-१ का वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
स्थानीय किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने र आयआर्जन बढाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ सहकारी संस्थामार्फत पहिलो पटक २५ जना किसानले जडीबुटीको खेती थालेको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।
उहाँले सामुदायिक वन क्षेत्रको साढे दुई हेक्टर क्षेत्रफलको जमिनमा अतिस जातको जडीबुटीको बेर्ना लगाएको बताउनुभयो । अतिसलाई मानिसको पेटभित्र पर्ने जुका मार्न तथा स्वास्थ्यवर्द्धक जडीबुटीका रूपमा मानिन्छ ।
बजारमा अतिस जडीबुटीको माग उच्च रहेकाले गुर्जामा यसको व्यावसायिक खेती थालिएको किसान समूहले जनाएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटरको उचाइमा अवस्थित गुर्जामा बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठेसल्ला, जटामसीलगायत बहुमूल्य जडीबुटीहरू पाइने वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । खाली जग्गाको उपयोग गर्ने नीतिअनुसार गुर्जामा अतिसको बेर्ना उत्पादन गरेर खेती विस्तार गरिएको हो ।
सहकारीले आफ्नै लगानीमा जडीबुटीको खेती गरेको जनाएको छ । दुई सय ६० घरधुरी रहेको गुर्जाका स्थानीयवासीले मकै, जौ, फापर, गहुँ र आलुको खेती गर्ने गर्दछन् । उच्च हिमाली क्षेत्र पर्ने भएकाले गुर्जामा धान र कोदो खेती हुँदैन । धेरैजसो छन्त्याल जाति र केही दलित समुदाय रहेको गुर्जाका दर्जन बढी किसानले व्यावसायिक रूपमा भेडापालनसमेत गर्दै आइरहेका छन् । गुर्जामा लेकाली रातो च्याउ पनि पाइन्छ ।
यसअघि गुर्जामा इटालियन जातको उच्च घनत्वको स्याउका बिरुवा काठमाण्डौदेखि लगेर रोपिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको ५० प्रतिशत र धवलागिरि गाउँपालिकाको ७५ प्रतिशत अनुदान सहयोगमा गुर्जाका २५ किसानले इटालियन जातको स्याउको आठ सय वटा बेर्ना लगाएका हुन् ।
गुर्जामा सुरु गरिएको स्याउको व्यावसायिक खेती जिल्लाकै पहिलो हो । राम्रो फल नदिएपछि गुर्जावासीले पुरानो स्याउको बगैँचालाई मासेर विदेशबाट आयातित उच्च घनत्वको हाइब्रिड जातको स्याउ लगाएका हुन् ।
19.99¡ÆC