मनाङका बाढी पीडितलाई प्रतिपरिवार २ लाख दिने

भदौ १, २०७८ मा प्रकाशित | 265 views

पोखरा । गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई घर पुनर्निर्माण गर्न प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने भएको छ ।

मुख्यमन्त्री मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल सोमबार क्षतिग्रस्त ठाउँको स्थलगत अनुगमन गर्दै राहत कार्यक्रम घोषणा गरेका हुन् । जेठ दोस्रो साता र असार १ गते आएको बाढी, पहिरोले मनाङमा ८५ घर पूर्ण क्षति भएको छ ।

बाढी, पहिरोबाट सबैभन्दा बढी नासों गाउँपालिकाले क्षति व्यहोरेको छ । नासों १, ताल गाउँका मात्रै ७० बढी घरमा क्षति पुगेको छ भने धारापानीमा १२ घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । सडक, पुल, विद्युतमा क्षति पुर्‍याउँदा मनाङमा सडक यातायात सम्पर्क टुटेको छ ।

संघीय सरकारले मनाङलाई विपद संकटग्रस्त घोषणा गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको समितिले मनाङमा चाँडै सडक यातायात सञ्चालन नभए खाद्यान्न संकट हुन सक्ने प्रतिवेदन दिएको छ । जिल्लाभरका १७ पुलमा बाढी, पहिराले क्षति पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ ।

मस्र्याङ्दी नदीमा आएको बाढी कारण डुबानमा परेका तालगाउँमा बस्न नसक्ने र बस्ती स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनले देखाएको छ । उक्त प्रतिवेदन गृह मन्त्रालयलाई बुझाइसकेको छ । जिल्लाको प्रतिवेदनपछि मन्त्रालयले नेपाली सेनाको नेतृत्वमा स्थलगत अध्ययन गरेको थियो ।

मुख्यमन्त्री नेपालीको टोली यसअघि असार ३ गते पनि बाढी, पहिरो पीडितको उद्धार गर्न भन्दै मनाङ पुगेका थिए । तर, मौसम खराबीका कारण हेली उड्न नसकेको भन्दै सदरमुकाम चामेबाटै फर्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web