नक्कली लाईसेन्स बनाएको आरोपमा दुईजना पक्राउ

साउन ३२, २०७८ मा प्रकाशित | 513 views

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) बनाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका-६ घर भई हाल मुलपानी बस्ने बर्ष ३१ की कल्पना दाहाल रहेका छन् ।

यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्‍वरी मनोहरा नगरपालिका वडा नं. ६ मुलपानी स्थित राईजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

तुलाधरले आफ्नै नाममा रहेको ०१-००-९८५७६९५३ नम्बर भएको सवारी चालक अनुमतिपत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङ्गमा दिएका थिए । तुलाधर पक्राउ परेपछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाललाई मुलपानीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी दाहालको साथबाट गिता कुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमति पत्र नं. ०१-०६-००६८३४३८ भएको नक्कली नगदी रसिद प्रहरीले बरामद गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्कली लाईसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागि प्रहरी वृत्त, सिंहदरवारमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web