काठमाडौँ । अफगानिस्तानको तालिबान विद्रोही समूहले महिला अधिकारको सम्मान गर्ने वचन दिएको छ । आफ्ना लडाकुहरूले महिला र प्रेस अधिकारको सम्मान गर्ने तालिबानका प्रवक्ताले वचन दिनुभएको हो । अफगानिस्तानमा सत्ता हस्तान्तरणको तयारी भइरहँदा तालिबान प्रवक्ता सुहाइल साहिनले बताउनुभएको हो ।
अफगानिस्तानमा तालिबान तीव्र गतिमा अघि बढ्दै गर्दा नियन्त्रण बढ्दै गर्दा त्यहाँका महिलाहरूका लागि के अर्थ हुन सक्छ भन्नेबारेमा चिन्ता बढेको छ । तालिबानले मात्र १० दिनमा पूरै अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको हो ।
यसअघि सन् १९९६ र २००२ को बीचमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिँदा यस समूहले शरिया कानुनको अभ्यास गरेको थियो, जसमा व्यभिचार गर्नेलाई पत्थरले हान्ने, चोरी गर्नेको अङ्ग विच्छेदन गर्ने र स्कुले बालिकालाई १२ वर्ष पुगेपछि विद्यालय जान नदिने जस्ता विषय रहेका थिए ।
आइतवार तालिबानको बयानको उद्देश्य विश्वको चिन्तालाई शान्त गर्नेतर्फ लक्षित हुन्छ ।
तालिबानका प्रवक्ताले महिलाहरू घरबाटै एक्लै बाहिर निस्कन सक्ने र शिक्षा र कामलाई निरन्तरता दिन सक्ने बताउनुभएको छ ।
तर तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानका अन्य क्षेत्रबाट आएका रिपोर्ट भने योभन्दा फरक छ । कन्धारमा एक बैंकमा काम गर्ने महिलालाई जागिर छोड्न भनिएको र उनको ठाउँमा उनकै पुरुष नातेदारलाई जागिर दिइने घटना बाहिर आएको बीबीसीमा उल्लेख छ । अन्य क्षेत्रमा पनि महिलाहरू बाहिर एक्लै जान नदिइएको र बुर्खा लगाउन बाध्य बनाइएको खबर सार्वजनिक भएका छन् ।
प्रवक्ताले भन्नुभएको छ, ‘मिडियालाई स्वतन्त्र रूपमा आलोचना गर्ने अनुमति दिइनेछ तर चरित्र हत्या गर्न छुट हुने छैन ।’
15.58¡ÆC