काठमाडौँ । पत्रकार मनोज विष्टको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि काठमाण्डौको मनमोहन अस्पतालमा उपचाररत पत्रकार विष्टको उपचारकै क्रममा २०७८ साउन २३ गते निधन भएको थियो ।
महासङ्घका महासचिव रोशन पुरीले जारी गर्नुभएको शोक विज्ञप्तिमा उज्यालो रेडियो नेटवर्कसहित विभिन्न सञ्चारमाध्यममा लामो समय क्रियाशील विष्टको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु पत्रकार गुमाएको उल्लेख गरिएको छ ।
महासङ्घले स्वर्गीय पत्रकार विष्टप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ ।
कोरोनाकै कारण अहिलेसम्म २१ जना पत्रकारको निधन भएको छ भने एक हजारभन्दा धेरै पत्रकार सङ्क्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको भन्दै महासङ्घले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेसागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल पनि गरेको छ ।
28.13¡ÆC