महाकालीमा बेपत्ता धामीको शव ड्रोनबाट खोजिने

साउन २५, २०७८ मा प्रकाशित | 438 views

दार्चुला । महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीकाे शव ड्राेनबाट खाेजिने भएकाे छ । तुइनबाट महाकाली तर्ने क्रममा धामी नदीमा बेपत्ता भएका घटनाकाे छानबिनका लागि दार्चुला पुगेकाे टाेलीले उहाँकाे शव ड्राेन क्यामरामार्फत खाेज्ने भएकाे हाे । गएकाे साउन १५ गते तुइनबाट नदी तर्ने क्रममा उहाँ बेपत्ता हुनुभएको थियो ।

सुरक्षा निकायले धामीको शव खोजी गरिरहेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् ।

सुरक्षाकर्मीले व्यास गाउँपालिका–२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी जारी गरिरहेका छन् । गएकाे साउन १९ गते खलङ्गा पुगेको छानबिन समिति अहिले पनि दार्चुलामै छ । समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोनमार्फत धामीको शव खोजी गरिने बताउनुभयो ।

सशस्त्र प्रहरीले बाइनाकुलर लगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा शव खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ४४ का गणपति प्रहरी उपरीक्षक नरेन्द्र बमले जानकारी दिनुभयो । ‘ड्रोन क्यामरा लिएर टोली दार्चुला आइपुगेको छ ।’ छानबिन समिति संयोजक गौतमले भन्नुभयो, ‘नदीमा बेपत्ता धामीको शव खोजी जारी राखेका छौँ ।’ समितिले अहिले बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ।

गएकाे शुक्रवार पीडितको परिवारसँग र नेपालतर्फको घटनास्थल निरीक्षण गरी फर्किएको टोली निरन्तर प्रतिवेदन लेख्न र सोधपुछ कार्यमा व्यस्त छ । ‘हाम्रो अनुसन्धान जारी छ, अहिले सुरक्षा समितिका सदस्य, घटनास्थल नजिकैका सुरक्षाकर्मीलगायतसँग सोधपुछ चलेको छ’ उहाँले भन्नुभयो ।

गएकाे साउन १७ गते गठित समितिलाई १० दिनभित्र सरकारले प्रतिवेदन बुझाउन भनेको छ । ‘भनेकै समयमा प्रतिवेदन नहुन पनि सक्छ’, उहाँले भन्नुभयो, ‘ड्रोन क्यामराले खोजी गरेपछि हामी यहाँबाट फर्किन्छौँ।’

व्यास-२ मालघाटदेखि सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने भारतीय पक्षसँग समन्वय भइरहेको समितिका सदस्य एवं निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिनुभयो । सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र निमित्त प्रजिअ भट्ट हुनुहुन्छ ।

एक हप्तादेखि दार्चुलामै बसेको समितिले नेपाल भारत दुवैतर्फबाट स्थलगत निरीक्षण गरेको छ । यस्तै जिल्लामा राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी, घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web