दैलेखमा सात वर्षीय सुवास नयाँ ‘देउकेटा’

साउन २४, २०७८ मा प्रकाशित | 317 views

दैलेख । सुदूरपश्चिममा देउकी र काठमाण्डाै उपत्यकामा जीवित देवी, कुमारीको चर्चा भइरहन्छ । त्यहाँ मन्दिरमा पुजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार । कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरमा रहेकाे पञ्चेश्वर शिव महादेव मन्दिरमा पुर्खाैँदेखि नाबालकले पूजापाठ गर्ने प्रचलन रहेको छ । अहिले यस मन्दिरमा सात वर्षीय सुवासदेव गिरी पुजारी (देउकेटा) हुनुहुन्छ ।

सुवास गएकाे वर्ष मङ्सिरदेखि पुजारी नियुक्त हुनुभएको हो । त्यसअघि उहाँका साहिला दाजु जीवनदेव पुजारी हुनुहुन्थ्यो । जीवनदेवको उमेर १६ वर्ष पुगेपछि उत्तराधिकारीका रूपमा पुजारीमा सुवास मन्दिर प्रवेश गर्नुभएको हो । सुवासले मन्दिरमा दैनिक पूजापाठ गर्ने, दर्शनार्थीलाई टीका र आर्शीवाद दिँदै आएको बताउनुभयो । ‘पूजापाठका सबै काम सिक्दैछु, बुबा र दाइले सिकाउनुहुन्छ’, उहाँले भन्नुभयो ।

शिव महादेव मन्दिरमा कुमार केटालाई मन्दिरमा चढाएर मात्र पुजारीको मान्यता दिने चलन छ । जसलाई स्थानीय भाषामा ‘देउकेटा’ अर्थात् ‘देउतालाई चढाएको केटा’ भनिन्छ । देउतालाई चढाएको केटाले पूजापाठ मात्र होइन मन्दिरमै बास बस्छन् । पूर्व ‘देउकेटा’ जीवनदेवले वर्षाैँदेखि चलिआएको संस्कार भएकाले आफूहरूले निरन्तरता दिँदै आएको बताउनुभयो । ‘आफैँले पकाएको खानुपर्छ, अरू जस्तो मनलागी हिँडडुल गर्न पाइँदैन’, उहाँले भन्नुभयो, ‘स्कूलमा गएर पनि अलग्गै बस्नुपर्छ ।’ सुवास अहिले महादेव मावि कक्षा तीनमा अध्ययनरत हुनुहुन्छ । सुवास सानै भएकाले पूजापाठमा जीवनदेवले सघाउने गर्नुभएको छ । उहाँ २०६८ जेठदेखि गएकाे वर्ष मङ्सिरसम्म ‘देउकेटा’ का रूपमा मन्दिरमा बस्नुभएको थियो ।

मन्दिर दुल्लू नगरपालिका–१ तल्लो डुङ्गेश्वर बजार छेवैमा छ । जुन कर्णाली नदी र लोहोरे खोलाको सङ्गमस्थल हो । यहाँ दैलेख, अछाम, सुर्खेतका साथै राजमार्ग हुँदै आउजाउ गर्ने मन्दिर प्रवेश गरेर ‘देउकेटा’ बाट टीका थाप्नुका साथै आशीर्वाद लिइ गन्तव्यतर्फ लाग्दछन् । मङ्गलवार र शनिवार भक्तजनको बढी भिड लाग्दछ ।

खड्गदेवका छोरा पे्रमदेव, चन्द्रदेव र जीवनदेवपछि सुवासदेव ‘देउकेटा’ का रूपमा भित्रिनुभएको हो । खड्गेव पनि ११ वर्ष देउकेटा हुनुहुन्थ्यो । पूजापाठबाट सङ्कलित दान दक्षिणाबाटै परिवारको खर्च धानेको बताउँदै खड्गदेवले भन्नुभयो, ‘पूजापाठबाटै सात जनाको परिवार पाल्नुपर्ने बाध्यता छ, जग्गा–जमिन छैन, गुठीको आम्दानीबाटै गुजारा चलाउनुपर्छ ।’

उहाँका अनुसार ‘देउकेटा’ ले १६ वर्ष पार नगरुञ्जेलसम्म पुजारी बन्नुपर्छ । त्यसअघि नै बिहे भयो भने पनि मन्दिरबाट बाहिरिनुपर्छ । यदि पुजारीमा कुनै समस्या आइपरेमा सन्तानको रोल क्रमअनुसार नियुक्त गर्ने चलन छ । त्यसरी नियुक्त ‘देउकेटा’ लाई विधिपूर्वक व्रतबन्ध गरी भित्र्याइन्छ । विवाहितलाई ‘देउकेटा’ बनाए अनिष्ट हुने विश्वास छ । प्रसिद्ध पञ्चकोशी तीर्थस्थलमध्ये शिव मन्दिरमा गिरी, शिरस्थानमा नाथ, कोटिलामा योगी, धुलेश्वरमा सन्यासीले पूजाआजा गर्ने संस्कार छ । नाबालकले पूजा गर्ने भने यही यो मन्दिर मात्र हो । यहाँका अन्य मन्दिरमा यस्तो चलन छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web