कुल संक्रमित मध्ये ४० प्रतिशत भन्दा बढीमा डेल्टा भाइरस

साउन २१, २०७८ मा प्रकाशित
Published at 2021-08-05

825 views

टोकियो, जापान । कुल कोरोना भाइरस संक्रमित मध्ये ४० प्रतिशत भन्दा बढीमा उच्च संक्रमण क्षमता भएको डेल्टा भाइरसको संक्रमण पाईंदा जापानभर संक्रमितको संख्यामा उच्च बृद्धि जारी छ । एकपछि अर्कोदिन संक्रामक ईण्डियन तथा बेलायती डेल्टा भाइरस संक्रमितको संख्या थपिने क्रममा यसले हरेकदिन जसो संक्रमितको उच्च किर्तिमान बनाउन थालेको छ ।

यसै क्रममा अगष्ट ५ तारिख बिहिबार जापानमा एकैदिन संक्रमित कोरोनाका बिरामीको संख्या अहिलेसम्मकै धेरै पुष्टि भएको छ । यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार बिहिबार पहिलो पकट दैनिक संक्रमितको संख्या १५ हजार पार भएको छ । पछिल्लो २४ घण्टामा देशभरमा १५,२६३ जनामा कोभिड १९ संक्रमण सकारात्मक पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित जापानमा कुल कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार १ सय ६३ पुगेको छ ।

संक्रमितको संख्या उच्च रहेपनि मृतकको संख्यामा कमि पाईंदा केवल ८ जनाले बिहिबार कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सहित जापानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १५ हजार २ सय ५४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ८ सय २३ जना कोरोना संक्रमित गम्भिर अवस्थामा उपचाररत छन् । यो संख्या अघिल्लो दिनको तुलनामा ४६ ले बढी हो । कोरोना संक्रमणबाट बिरामी भएका मध्ये ८ लाख ५९ हजार १ सय २० जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक भेन्टिलेटर वा अन्य प्रकारको गहन हेरचाहको आवश्यकता भएका बिरामीको संख्यामा उच्च बृद्धि जारी छ । यो संख्या राजधानी टोकियो सहित केही शहरमा कुल क्षमताको ८० प्रतिशत भरिएको अवस्थामा पुगेको छ । संक्रमणको गति यहि रफ्तारमा बढेमा दुई सातामा देशभर गम्भिर बिरामीको लागि अस्पतालमा उपचार पाउन पालो कुर्नुपर्ने अवस्था आउने अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.