दार्चुला । महाकालीमा तुइनको सहायताले वारिपारि गर्न कहिलेदेखि थालियो भन्नेमा सीमा क्षेत्रका बासिन्दा ठ्याक्कै मिति भन्न सक्दैनन् । तुइनबाट महाकाली तर्दा कम्तीमा ३/४ घण्टाको पैदल बाटो छोट्टिन्छ, त्यसैले जोखिम जान्दाजान्दै हिम्मत गर्नु बाध्यतामा पर्छ । दुःखले तुइनबाट वारिपारि गर्नेलाई भारतीय सशस्त्र सीमा बलले बराबर सास्ती दिन्छन् ।
‘हाम्रा लागि तुइन तर्नु बाध्यता छ,’ व्यास गाउँपालिका–३ का जयसिह कुँवर भन्छन्, ‘गाउँमा सुविधा छैन । आफ्नै जिल्ला सदरमुकाम जानसमेत बाटोघाटो छैन । धेरै कुरामा भारतमा निर्भर भएकाले भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार र कुटपिट सहनुपरेको छ ।’ वारिपारि गर्ने नेपालीलाई भारतीय सुरक्षाकर्मीले बेलाबेलामा दुःख दिने गरेको उनले बताए ।
दार्चुलाको उत्तरपश्चिमी क्षेत्र व्यास गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तु किनमेलदेखि उपचार, मजदुरी र जिल्ला सदरमुकामसम्म पुग्न पनि भारतीय बाटो प्रयोग गर्नुपर्छ । एसएसबीले कहिलेकाहीँ त त्यत्तिकै निहुँ खोजेर कुटपिट गर्ने गरेको व्यासका बासिन्दा बताउँछन् । सीमा क्षेत्रमा आउने गस्तीबाट नेपालीले सधैं दुःख पाइरहेका हुन्छन् । मान्छे तरेको देख्दादेख्दै तुइन फुकालिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनाले स्थानीय स्तब्ध छन् ।
भारतीय बजार तवाघाट र धारचुलाबाट घरायसी सामान खरिद गरेर ल्याउँदा एसएसबीका जवानले दुर्व्यवहार गर्छन् । ‘कहिलेकाहीँ चिनी, दाल किनेर ल्याउँदा पनि गालीगलौज र कुटपिट गर्छन्,’ कुँवरले भने, ‘बोल्न नसक्नेलाई त झनै दुःख दिने गरेका छन् ।’
गत वर्ष व्यास–२ मालघाटकै धनसिंह धामीको करिब ६० हजार बराबरको सामान एसएसबीले फिर्ता दिएन । ‘सामान तारिराखेको अवस्थामा बीच तुइनबाट फर्काएर माथि लगेको थियो । त्यसपछि उनको सामान कहाँ गयो, पत्तै भएन । एक महिनासम्म धनसिंहले सामान छुट्याउन कोसिस गरे पनि पाएनन्,’ स्थानीय धरमसिंह धामीले भने, ‘गाउँलेको नुन–तेल पनि समात्छन् । कुनै बेला व्यापारीको सामान भने तुइनमा आउन दिन्छन् ।’ दुर्व्यवहार घटना पटक–पटक हुँदै आउनु सामान्य जस्तै भएको धामीको भनाइ छ । काठमाडौं वा मुलुकका अन्य भागमा सीमासम्बन्धी कुनै बहस वा छलफल हुन थाले यहाँ सुरक्षाकर्मीबाट झनै दुःख पाइने गरेको स्थानीय बताउँछन् ।
18.02¡ÆC