महेन्द्र रत्न क्याम्पसमा विद्यार्थीले लगाए ताला

साउन १८, २०७८ मा प्रकाशित | 641 views

इलाम । इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विद्यार्थीले ताला लगाएका छन् । विद्यार्थीहरुले सार्वजनिक सेवा प्रवेशका लागि लोकसेवा आयोगको ढोका खुला गर्न र स्नातकोत्तर तहमा अध्ययन गर्न पाउनुपर्ने माग राख्दै त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट सम्बन्धन लिई सञ्चालित बीएससी बागवानी विषय अध्ययनरत विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

लामो समयदेखि विद्यार्थीहरु मापदण्ड पुगेका कृषि सेवा समूह (बागवानी, कृषि प्रसार, बाली संरक्षण, बाली विकास, माटो विज्ञान) मा लोकसेवाको सुनिश्चित हुनुपर्ने, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बागवानी सहित मापदण्ड पुगेका अन्य विषयहरुमा पनि स्नातकोत्तर सुनिश्चित हुनुपर्ने माग राखी आन्दोलन गर्दै आएका छन् ।

आफ्ना मागहरु प्रति क्याम्पस प्रशासन र सरोकारवालाले वेवास्ता गरेपछि ताला लगाउन बाध्य भएको बागबानी संघर्ष समितिका अध्यक्ष किशोर आचार्यले बताए । उनले भने ‘हामीले हाम्रो मागलाई सम्बोधन गर्नका लागि पहल गर्न हामी सबैको ढोका पुग्यौं कसैले सुनुवाइ गरेन बाध्य भएर आज पदाधिकारीको कार्यकक्षमा ताला लगाएका हौं ।’

विद्यार्थीहरुले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख कार्यकक्ष एवम् बागवानी विभागको कार्यलयमा ताला बन्दी गरेका छन् ।

संघर्ष समितिले सोमबार विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायले यो विषयमा सुनुवाई नगरे जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ । उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्याम्पसमा बागबानी विषयमा २०६९ सालबाट पठनपाठन हुँदै आएको छ । क्याम्पसबाट बागबानी विषयमा १२० जना विद्यार्थी पास भैसकेका छन भने ११० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web