सबैलाई निःशुल्क खोप, सरकारको पहिलो प्राथमिकता

साउन ७, २०७८ मा प्रकाशित | 461 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड — १९ विरुद्धको निःशुल्क खोप आफ्नो पहिलो प्रथमिकता भएको बताएका छन् । नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले ध्यान दिने बताए ।

“विकासलाई हामीले प्राथमिकता दिएका छौंँ, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो,” उनले भने, “महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतिपूर्ण छ, त्यसकारण हाम्रो पहिलो प्राथमिकता नै निःशुल्क खोप वितरण हो ।”

प्रधानमन्त्री देउवाले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगीकरणलाई प्रवद्र्धन गर्ने बताए ।

अर्थमन्त्री जनार्दन शर्माले कोभिडले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध गराइदिएको उल्लेख गरे । परिसंघले अघि बढाएको मेक इन नेपाल — स्वदेशी अभियानले स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने पनि उनले बताए ।

अर्थतन्त्र अहिले कमजोर अवस्थामा रहेको भन्दै त्यसलाई माथि उठाउन सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने उनको भनाई थियो । सरकारले निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा जोड दिने पनि उल्लेख गरे ।

परिसंघका अध्यक्ष एमिरेटस विनोद चौधरीले परिसंघले महत्वपूर्ण थिंक ट्यांकको रुपमा काम गरिरहेको बताए । विश्वका सफल उदाहरण हेरेर परिसंघका गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उनले बताए । चौधरीले २०४६ सालको परिवर्तनसँगै सुरु गरिएको आर्थिक सुधारले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजस्व परिचालनमा ठूलो योगदान गरेको भन्दै दोस्रो चरणको सुधार आवश्यक भएको बताए ।

साधारणसभामा प्रमुख वक्ताका रुपमा रहेका नीति आयोग भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले तीव्र आर्थिक विकासका लागि नीतिगत सहजता आवश्यक भएको बताए । उनले भारत सरकारले पनि लगानी अभिवृद्धि र निजी क्षेत्रको सहजीकरणका लागि संरचनागत परिवर्तन गरेको बताए ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको गतिशील र विश्वसनीय संस्थाको रुपमा परिसंघलाई अघि बढाएको बताए । अर्थतन्त्रको पुनरोत्थानका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै उनले सरकारले नीतिगत सहजीकरण गरिदिनुपर्ने बताए ।

प्रिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड विरुद्धको खोप वितरणमा निजी क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरे । उनले आर्थिक विकासको महत्वपूर्ण स्तम्भको रुपमा निजी क्षेत्र रहेकाले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web