कर्णालीमा एमबीबीएस पढाइ शुरू

साउन ७, २०७८ मा प्रकाशित | 371 views

काठमाडौँ । कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) स्थापना भएको १० वर्षपछि यो वर्ष एमबीबीएस पढाइ शुरू हुँदैछ । अब देशको सबैभन्दा दुर्गम क्षेत्र कर्णालीका बासिन्दाले आफ्नै ठाउँमा चिकित्सा शिक्षा पढ्न पाउनेछन् ।

अब कर्णालीका बासिन्दाले डाक्टर बन्न लाखौं खर्चेर देशका ठूला शहरका मेडिकल कलेजमा जानुपर्ने छैन । पढाइ सकिएपछि कर्णालीकै स्वास्थ्य संस्थामा काम गर्न पाउने छन् । यसले अब कर्णालीको रूप फेर्ने प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल बताउँछन् ।

कर्णालीमा चिकित्सा शिक्षा पढाइ शुरू हुनु नेपालको चिकित्सा शिक्षा क्षेत्रको महत्वपूर्ण कोसेढुंगा भएको यस क्षेत्रका जानकार बताउँछन् । तर यसका लागि धेरै जनाले गरेको संघर्ष चानचुने छैन । कर्णालीवासीले प्रतिष्ठान स्थापना गर्न र प्रतिष्ठान स्थापना गरेपछि एमबीबीएस पढाइको अनुमति लिन धेरै‘पाप ड बेलेका’ छन् ।

१० वर्षअघिसम्म कर्णालीमा एमबीबीएस पढाइ कल्पना भन्दा बाहिरको विषय थियो । डोकोमा बोक्दा बोक्दै स्वास्थ्य चौकी नपुर्‍याई हुने सुत्केरीको मृत्यु कर्णालीको तीतो यथार्थ थियो । कर्णालीका जिल्लाहरूमा विशेषज्ञ डाक्टर त परै जाओस् मेडिकल अफिसर समेत भेट्न मुश्किल पर्थ्‍यो।

यहाँ सिटामोल र जीवनजल जस्ता औषधि नपाएर पनि मर्नुपर्ने अवस्था थियो । ‘कर्णालीका अधिकांश मानिस अकालमै मर्नुको प्रमुख कारण उपचार नपाउनु नै थियो’ प्रतिष्ठानका परिकल्पनाकार मध्येका एक माओवादी केन्द्रका सांसद नरेश भण्डारी भन्छन् ।

कर्णालीमा एमबीबीएस पढाइ शुरू गर्ने कुरा आउँथ्यो तब एकथरी राजनीतिज्ञ तथा चिकित्सा क्षेत्रकै मानिस ‘मेडिकल अफिसर समेत नटिक्ने दुर्गम ठाउँ कसरी विशेषज्ञ डाक्टर जान मान्छन् र एमबीबीएस पढाउने ?’ भन्ने तर्क झिक्थे । किनकि शहरको सुविधासम्पन्न ठाउँमा धेरै अस्पतालमा काम र मेडिकल कलेजमा पढाइरहेका विशेषज्ञ चिकित्सक र प्राध्यापकलाई कर्णालीमा गएर काम गर्न सजिलो पनि थिएन ।

२०६८ सालमा स्थापना भएको प्रतिष्ठान ९ वर्ष पुग्दासम्म एमबीबीएस पठनपाठनको कुनै गुञ्जायस थिएन । कर्णालीमा एमबीबीएस अध्यापन शुरू भएको देख्न चाहनेहरू निराश बनिरहेका थिए ।

कर्णालीमा एमबीबीएस पढाइमा ढिलाइ हुनु यसकारण पनि अस्वाभाविक थियो कि पाटनमा प्रतिष्ठान स्थापना भएकै वर्ष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापनाको चार वर्षमा एमबीबीएस पढाइ शुरू गरेका थिए ।

२०६४ सालमा ऐन बनेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि त्यसै वर्ष एमबीबीएस पठनपाठन शुरू भएको थियो । त्यस्तै २०७२ सालमा ऐन बनेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि २०७६ सालमा एमबीबीएस पठनपाठन शुरू भएको थियो ।

एमबीबीएस अध्ययन शुरू हुन भएको ढिलाइले कर्णालीलाई हेर्ने राज्यको नजर प्रष्ट पारेको थियो । ढिलै भए पनि यस वर्ष आएको समाचार कर्णालीवासीको लागि मात्र नभएर मेडिकल शिक्षामा चासो राख्नेहरूको लागि ऐतिहासिक थियो ।

जुम्ला जिल्लाको सदरमुकाममा रहेको प्रतिष्ठानले शुरूमा तत्कालीन कर्णाली अञ्चलका ९ जिल्लालाई स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्र मानेको थियो । प्रतिष्ठानको सातौं साधारण सभाले १३ जिल्लालाई स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्र तोकेको छ । जसमा कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिमका बझाङ, बाजुरा र अछाम रहेका छन् । यी १३ जिल्लामा करीब ८ लाख जनसंख्या छ ।

कर्णालीमा प्रतिष्ठान स्थापना हुनुअघि यहाँका बासिन्दा सामान्य उपचारका लागि पनि सुर्खेत, नेपालगञ्ज या काठमाडौं आउनुपर्ने बाध्यता थियो । ती ठाउँमा पाउने उपचार अहिले जुम्लास्थित प्रतिष्ठानको ३०० बेडको अस्पतालबाट पाउन सकिन्छ । अझै पनि हुम्ला र बाजुराबाट जुम्ला आइपुग्न पाँच दिनसम्म लाग्छ । प्रतिष्ठानको ऐनमा प्रत्येक जिल्लामा स्वास्थ्यकर्मी पठाउने उल्लेख छ, आफैं एमबीबीएस अध्यापन शुरू गरेपछि यो काम पनि शुरू हुने प्रतिष्ठानका प्राज्ञहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web