महामारी नियन्त्रणमा सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

साउन ६, २०७८ मा प्रकाशित | 426 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् ।

बुधवार नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीहरुले सहयोग गर्नुपर्ने धारणा राखे । उनले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै महामारी नियन्त्रणमा उद्योगी, व्यापारीहरुले हातेमालो गरे छिट्टै मुक्त हुन सकिन भन्दै सहयोगका लागि आह्वान गरे ।

उनले भने,‘कोभिडको जो समस्या छ त्यो समस्या समाधानका निम्ति नेपालका उद्योगपति व्यापारीहरुले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । म यहीँबाट फेरि उहाँहरुलाई अनुरोध र आह्वान गर्दछु कि, नेपालमा जो महामारी फैलिएको छ । यो सरकारको कर्तव्य हो । यसलाई पालना गर्नुपर्दछ । साथै तपाईंहरुले पनि हातेमालो गरिदिनुभयो भने हामी छिट्टै यो महामारीबाट मुक्त हुन सक्छौं भन्ने मलाई आशा छ ।’

प्रधानमन्त्री देउवाले वर्तमान अर्थमन्त्री मिहिनेती भएको टिप्पणी गर्दै अर्थमन्त्रीले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास गरे । उनले भने, ‘हाम्रो अर्थमन्त्रीजी अत्यन्त मिहिनेती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ भन्ने विश्वास छ । उहाँले सक्नुहुन्छ पनि । अत्यन्तै मिहिनेती हुनुहुन्छ उहाँ । भिजन पनि भएको व्यक्ति हो उहाँ ।’

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीको कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासको लागि निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web