बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरुलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ।
मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशको कोरोना अस्पतालमा कार्यरत ४ सय बढी करार र स्थायी कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिए।
उनले सो जोखिम भत्ता कोरोना नियन्त्रण तथा रोकथाम कोषबाट प्रदान गरिने जानकारी दिए। केन्द्र सरकारले फ्रन्टलाइनर्सलाई कोरोनाको समयमा काम गरेको भन्दै जोखिम भत्ता दिएपनि त्यसलाई यथावत राख्दै लुम्बिनी प्रदेश सरकारले पनि जोखिम भत्ता थपिदिएको उनले जनाए। कोरोनाको तेस्रो भेरियन्टको समयमा काम गर्न मलोबल बढोस् भन्नको लागि भत्ता दिइएको मन्त्री चौधरीले जानकारी दिए।
साथै, लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी बोर्डमा पाल्पाका धनेन्द्र गौतमले राजीनामा दिएपछि रिक्त भएको स्थानमा दाङका सम्भु गौतमलाई नियुक्त गर्ने पनि निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले यसका अलवा अन्य ८ वटा निर्णयहरु गरेको छ। प्रदेश सरकारको निजामती सेवा अन्तर्गत प्रशासन सेवा र बन सेवाका रिक्त पदहरुमा स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति दिने निर्णय समेत प्रदेश सरकारले गरेको छ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा आएको रुपन्देही जिल्लाको जिल्ला सभा तथा जिल्ला समन्वय समितिको जिल्लास्तरीय अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि २०७८ लाई सहमति दिने निर्णय गरेको छ।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै प्रस्तावमा आएको प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्न स्वीकृति प्रदान गरेको छ।
प्रदेश तथ्याङ्क नियमावली, २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै मंगलवारको बैठकले घरजग्गा न्युनतम मूल्य निर्धारण नियमावली, २०७८ लाई पनि स्वीकृत गरेको छ। प्रदेश राजपत्रमा शुल्क तथा दररेट प्रकाशन गर्न स्वीकृति समेत दिइएको छ।
कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी अवधारण पत्रलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। असार २७ गते बस्ने भनिएको मन्त्रिपरिद्को बैठक विभिन्न कारणले ढिलाई भएर मंगलवार बसेको हो।
20.81¡ÆC