औषधि उत्पादकलाई सहुलियत दिने सरकारको तयारी

पुस १५, २०७४ मा प्रकाशित | 1482 views

काठमाडौं– सरकारले औषधिमा आत्मनिर्भर हुन स्वदेशी औषधि उत्पादकलाई सहुलियत दिने तयारी गरेको छ । औषधिमा भइरहेको आयातलाई विस्थापन गर्दै ब्यापार घाटा कम गर्न सहुलियत दिने सरकारको तयारी छ ।
स्वास्थ्यमन्त्री दीपक बोहराले आईसीयु तथा मुटु बिरामीलाई चाहिने औषधि र औषधिजन्य पदार्थ उत्पादन गर्नेलाई सरकारी सुविधा दिने जानकारी दिए । ‘नेपाली औषधि उत्पादकलाई सरकारले सहुलियत दिने भनिसकेको छ,’ औषधि व्यवसायी संघ बागमतीको साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘तर गुणस्तरीयतामा कम्प्रोमाइज गर्न पाउनुहुन्न ।’
मन्त्री बोहराले स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन दिंदै नेपाली औषधिलाई सर्वसुलभ बनाइने जानकारी दिए । ‘कतिपय नीतिगत कुराहरु हामीले गरिरहेका छौं,’ उनको भनाइ थियो, ‘आगामी सरकारले त्यसलाई भत्काउन सक्दैन ।’
मन्त्री बोहराले मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक ५ हजार रुपैया“का दरले दिने भनिएको जिविकोपार्जन भत्ता सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमबाटै पुग्ने दाबी गरे । ‘कार्यविधिमै सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमको छुट्टै कोष खडा गर्ने भनिएको छ,’ उनले भने ।
नेपालमा करिव १८ हजार बिरामी मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीबाट पीडित रहेको तथ्यांक छ ।
नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले सरकारले सहयोगी भए औषधि धेरै सस्तो गर्न सकिने धारणा राखे । उनले भने, ‘औषधि सस्तो गर्न नारामात्रै होइन, सरकार र व्यवसायीबीच समझदारीको वातावरण हुनुपर्छ ।’
औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालले नेपाल औषधिमा ४० प्रतिशतमात्रै आत्मनिर्भर रहेको बताउ“दै नेपाली औषधिहरुको गुणस्तरीयतामा कसैले प्रश्न उठाउन नसक्ने दाबी गरे ।
औषधि व्यवसायी संघ बागमतीका अध्यक्ष निरञ्जनप्रसाद रिसालले आत्मनिर्भरताका नाममा गुणस्तरीयता र मूल्यमा भने सम्झौता गर्न नहुने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web