जनकपुरधाम,साउन ११ । रक्षाबन्धन कुन तिथिमा गर्ने भन्नने विषयमा जनकपुरमा मत बाझिएको छ। नागपञ्चमीका दिन मनाउने कि पूर्णिमाकै दिन भन्नेमा जनकपुरमा द्विविधा उत्पन्न भएको हो। दुई पञ्चांगहरूमा फरक–फरक तिथिमा रक्षाबन्धन लेखिएका कारण अन्योल उत्पन्न भएको हो।

मैथिली पञ्चांगमा पूर्णिमाकै दिन रक्षाबन्धन गर्न भनिएको छ। सो दिन बिहान १० देखि २ बजेसम्म रक्षाबन्धन मनाउने तिथि दिइएको छ। तर नेपाल पञ्चांग निर्णायक समितिले सिफारिस गरेका पात्रोहरूमा पूर्णिमाका दिन ग्रहणको दोष लाग्ने भएकाले पञ्चमीकै दिन रक्षाबन्धन गर्नुपर्ने बताइएको छ।

समितिले विज्ञप्ति नै निकालेर यो वर्ष साउन २३ गते श्रावण शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण परेका कारण १३ साउन अर्थात् नागपञ्चमीका दिन नै रक्षाबन्धन गर्न सुझाव दिएको छ। समितिले सत्कर्मरत्नावली, निर्णयसिन्धु र कृत्यवाटिकाजस्ता ग्रन्थका आधारमा यो निर्णय लिएको जनाएको छ। तर मैथिली पण्डितहरूले आफ्नै पञ्चांगका हिसाबले रक्षाबन्धन मनाउन सुझाव दिएका छन्, सर्वसाधारणलाई। पण्डित दिगम्बर झा ‘दिनमणि’ले पूर्णिमाको दिन बिहान ११ बजेभन्दा पहिल्यै रक्षाबन्धन गर्न सुझाव दिएका छन्।

मिथिलाञ्चलमा रक्षाबन्धन प्रायः बिहानै हुने भएकाले पूर्णिमाको राति पर्ने ग्रहणले असर नपार्ने उनको तर्क छ। मिथिलाञ्चलमा श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेर्ने परम्परा छैन। नेपालीभाषीका अतिरिक्त दक्षिण भारतीय मूलका सर्वसाधारणले पनि जनैपूर्णिमा मनाउने गरेका कारण समस्या उत्पन्न हुने देखिएको छ। मिथिलाञ्चलमा रक्षाबन्धनका दिन पण्डितलेयजमानका हातमा रक्षासूत्र बाँधिदिने चलन छ।

आजको राजधानी दैनिकमा समाचार छ ।

19.28¡ÆC