ललित बोहरा, डडेल्धुरा । कलम र कापी बोक्ने सपना थियो । तर अधूरै रह्यो । परिस्थितीले जुत्ता सिलाउने बाकस बोकायो ।

२५ वर्ष भयो जिल्ला सदरमुकाम अगरगढीस्थित बसपार्कमा बसेर उनले जुत्ता सिलाउन थालेको। ‘दलितले विद्यालय जान हुँदैन भन्ने गलत संस्कार थियो। बाबु–बाजेले स्कुल पठाएन्। त्यसैले सानैदेखि यही पेशा अंगाले।

यहाँ बस्न थालेको चैं २५ वर्ष भयो,’ बसपार्कमै भेटिएका ठगी सार्कीले भने। डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाका २ जोसिनाका ६४ वर्षिय ठगी सार्की च्यातिएको जुत्ता–चप्पल सिलाएरै जीवन धानिरहेका छन् । जाडो होस् या गर्मीको समय, उनी बिहान ७ बजेभित्रै बाकस बोकेर बसपार्क पुग्छन्।

बाकसबाट झिकेर जुत्ता सिलाउन आवश्यक सामाग्री तयारी अवस्थामा राख्छन्। अनि ग्राहकको सेवामा तल्लित हुन्छन्। ७ सदस्यीय परिवारको गुजारा यही पेशाबाट चलिरहेको उनले बताए। अब उनका धेरै ठूला चाहना छैनन्।

कापी–कलम बोक्ने सपना त्यागेको त वर्षौ भयो। च्यातिएका जुत्ता सिलाएर धानेको जिन्दगी त त्यतिबेला उध्रियो जब छोराहरुले पढाई छाडे।‘ धेरै पढाउन मन थियो । तर छोराहरुले ६र७ कक्षामै पढाइ छोडे । यही कुरामा सबैभन्दा दुख लाग्छ । अब उनीहरुले पनि मलाई सघाए हुन्थ्यो भन्ने छ,’ उनले भने,‘बाँचुन्जेलको समय आफुले सिकेको सिपलाई उपयोग गरेर खान पाऊ बस् ।

देखेको भन्दा लेखेको हुन्छ।’ जुत्ता सिलाएर दैनिक ५ सय देखि एक हजारसम्म कमाउने गरेको उनी बताउँछन् । जीवनको उर्जाशिल समय च्यातिएका जुत्ता सिलाएरै बिताएका ठगी सार्कीको कामप्रतिको लगाव भने गज्जबको छ। ‘मलाई त मैले जुत्ता सिलाएको भन्दा यही च्यातिएको जुत्ताले मेरो सारा परिवारको जीवनलाई सिलाएजस्तो लाग्छ,’ ठगीले यति भन्दै गर्दा एक व्यक्ति जुत्ता पोलिस गराउन आए। केही समय उनी काममा खटिए।

जुत्ता टल्काएर सुकाउनका लागि राखे। ‘बसपार्क कच्ची थियो। जतिबेला म जुत्ता पोलिस गर्न र च्यातिएका जुत्ता सिउन यहाँ आएको थिएँ,’ फूर्सदको समयमा उनले भने। अहिले यो बसपार्कमा कालोपत्रे भइसकेको छ। तर अझै ठाउँ–ठाउँमा हिलो देखिन्छ।

कहाँ ठगी सार्कीले टल्काएको चिटिक्कको जुत्ता रु कहाँ कालोपत्रे गरेर पनि ठाउँ–ठाउँमा भ्वाङका कारण हिलाम्ये बन्ने सडक। पोलिस गरेको जुत्ता लगाएर ग्राहक हिंडेपछि सार्कीले भने,‘वर्षाको समय हिलो लाग्ने भएकाले जुत्ता पोलिस गर्न आउनेको संख्या धेरै हुन्छ।’ ग्राहक आउँदै–जाँदै गर्दा बचेको समयमा उनी मज्जाले आफ्ना अनुभव साट्थें।

बाबु–बाजेले घरमै साबरका जुत्ता निर्माण गर्ने गरेको विगत उनले कोट्टयाए। १०–१५ वर्षअघिसम्म उनी पनि घरमै जुत्ता बनाएर ल्याउँथे। बसपार्कमा सिलाउने, पोलिस गर्ने र नयाँ जुत्ता बेच्ने काम एकसाथ गर्थे। ‘१ सयदेखि ३ सय रुपैयाँसम्ममा घरमै सिलाएको जुत्ता बेच्ने गरेको थिएँ।

आजकाल मानिसहरुले राम्रा–राम्रा कम्पनीका जुत्ता किन्छन्। त्यसैले हाम्रो काम सिलाउने र पोलिस गर्नेमात्रै हो,’ उनले भने । ठूला कम्पनीका जुत्ताले बजार लिन थालेपछि कच्चा पदार्थ किन्नका लागि ठूलो पुँजी नहुने साना व्यापारीहरु मारमा परेको उनको अनुभव छ। ‘‘कसैबाट सहयोग पाए यो बाकसको पसललाई बढाएर राम्रो पसल निर्माण गर्ने सपना थियो, तर पूरा हुने कुनै सम्भावना देखेको छैन,’ उनले भने ।

२५ वर्ष सडकमा जुत्ता सिलाएर बस्ने क्रममा उनले ग्राहकहरुको मनोविज्ञान पनि राम्ररी बुझ्न भ्याएका रहेछन्, ‘पहिले पहिले हामीलाई हेलाको दृष्टीले हेर्थे। होच्याएर बोल्थे ।

अहिले मानिसले बोल्ने भाषा धेरै परिवर्तन भइसकेको छ।’ उनले ग्राहकले जस्तोसुकै व्यवहार गरेपनि आफुले उनीहरुप्रति सम्मानजक व्यवहार गर्ने तथा नम्र भएर प्रस्तुत हुने गरेको बताए । ‘मेरा लागि त जुत्ता सिलाउने ग्राहक नै देवता हुन्,’ उनले भने । समाज परिवर्तनसँगै आफुले गर्दै आएको पेशालाई युवापुस्ताले सम्मानजनक रुपमा हेर्न थालेको र त्यही कुरामा सबैभन्दा धेरै सन्तुष्टी मिलेको उनी बताउँछन् ।

30.86¡ÆC