न्यूयोर्क ।

मेम्बरसिप भेरिफिकेसनको लामो विवादलाई चिर्दै निर्वाचन समतिले अमेरिकी एनआरएन निर्वाचनको आगामी सन् २०१७÷१९ कार्यकालका लागि निर्वाचन कार्यक्रम तय गरेको छ ।

आगामी अगष्ट महिनाको ११ र १२ तारिख निर्वाचन तय गरेसँगै नेतृत्वमा जान इच्छुकहरुले गत जुलाई ८ तारिख समयसीमाभित्रै मनोनयनपत्र दाखिला गरेका छन् ।

अमेरिकी डायस्पोरामा एनआरएनमार्फत नेतृत्व गर्न इच्छुक अनुहारहरु प्रष्टरुपमा नेपाली राजनीतिकका दुई ठूला दल कांग्रेस र एमाले समूहमा ध्रुवीकृत हुन पुगेका छन् । अघिल्लो वर्षसम्म नामै नसुनिएका टेक्सासका व्यापारी गौरी जोशीले एमाले पार्टीका लागि अमेरिकाबाट सक्रिय भूमिका खेल्दै आएको समूहको नेतृत्व गरेका छन् ।

जोशीले अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले आफ्नो समूहमा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च, अमेरिकाका पूर्वअध्यक्ष सञ्जय थापा, अमेरिकाकै प्रवासी नेपाली मञ्च सम्बद्ध प्रीतिसागर खत्री, थलराज पन्त, बलराम थापाको साथमा अमेरिकाबाट एमालेकै संगठनका लागि प्रवासी नेपाली मञ्चमार्फत काम गर्दै आएका पुरुषोत्तम बोहरालाई साथमा लिएका छन् । त्यस्तै, गौरी जोशीले एमाले निकट वेदराज बस्नेत र उमा कार्की थापालाई पनि आफ्नो समूहमा राखेका छन् ।

उता, वर्तमान अध्यक्ष डा. केशव पौडेलले अधिकांश कांग्रेस समर्थकहरुलाई समूहमा राखेर अध्यक्ष पदमा पुनः उम्मेदवारी दिएका छन् ।

डा. पौडेलले जनसम्पर्क समितिका सल्लाहकार सुनिल साहलाई वरिष्ठ उपाध्यक्षमा छानेका छन् । उनले आफ्नो समूहबाट उपाध्यक्षमा जनसम्पर्क समिति अमेरिकाका सल्लाहकार भूवन आचार्य र कांग्रेस निकट राधा पौडेललाई समावेश गरेका छन् ।

त्यसैगरी जनसम्पर्क समिति अमेरिकाका संस्थापकद्वय टेक्ससबासी कृष्ण लामिछाने तथा डा. अर्जुन बञ्जाडेलाई कार्यकारी सदस्यका रुपमा डा. पौडेलले आफ्नो प्यानलमा राखेका छन् । २३ सदस्यीय कार्यसमितिका लागि डा. पौडेलले कांग्रेस समर्थक होम गौतमलाई सचिव तथा गोविन्द श्रेष्ठ र पशुपति पाण्डेलगायतलाई सदस्यमा समावेश गरेका छन् भने महासचिवमा बीआर लामालाई राखेका छन् ।

दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका डा. पौडेल आफ्नो विद्यार्थी जीवनमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको नेतृत्व तहमा पुगेका व्यक्ति हुन् । उनको प्यानलबाट उम्मेदवारी दिने प्रायः सबै नेपाली कांग्रेस निकट अनौठो नभए पनि एकाएक अमेरिकी एनआरएनमा उदाएका व्यापारी गौरी जोशीको प्यानलमा भने अधिकांश एमाले एवम् वामपन्थी विचारधाराप्रति आस्था र विश्वास राखेका व्यक्तिहरुको बाहुल्यता रहेको हुनाले जोशीले वामपन्थी धारको नेतृत्व गर्ने आमबुझाइ छ ।

जोशीको राजनीतिक पृष्ठभूमि प्रष्ट नभए तापनि उनको प्यानलको महत्वपूर्ण पदहरुमा एमाले निकट कार्यकर्ताहरुले उम्मेदवारी दिएकाले उनी वामपन्थी राजनीतिक विचार राख्ने व्यक्ति भएको चर्चा अमेरिकी डायस्पोरामा चल्न थालेको छ ।

डा. केशव पौडेल, गौरी जोशीको साथमा कृष्ण पोखरेल, रविना थापा, रामसी पोखरेलसमेत अध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका कृष्ण पोखरेल भने एक कार्यकाल पनि कार्यसमितिमा बसेर काम नगरेका कारण गौरी जोशीको उम्मेदवारी रद्द भएको खण्डमा च्याँखे थाप्ने दाउमा रहेको आमबुझाइ छ । उता, रविना थापा र रामसी पोखरेल भने क्षेत्रीय संयोजक र क्षेत्रीय उपसंयोजक पद हात लाग्ने ग्यारेन्टी भए उम्मेदवारी फिर्ता लिने मनस्थितिमा रहेको बुझिएको छ ।

25.4¡ÆC