नेपाल बेलायत कुटनीतिक सम्बन्ध

मा ह्यारिले सम्झे पिरो खसीको मासु खाएको क्षण

लण्डन ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीले बेलायत नेपाल सम्वन्ध सरकारीस्तरमा मात्र नभइ जनस्तरमा समेत सुदृढ भएको बताए । मन्त्री जोशीले गत वर्ष नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएको स्मरण गर्दै नेपालमा जलश्रोत, पर्यटन व्यापार र लगानीका प्रशस्त अवसरहरु रहेको धारणा समेत राखे ।

बेलायत नेपालबीच कुटनीतिक सम्बन्ध कायम भएको दुईसय वर्ष पुरा भएको अवसरमा लन्डनस्थित नेपाली दूतावासद्वारा आयोजित साताव्यापी कार्यक्रमको अन्तिम दिन सोमबार अपरान्ह लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा मन्त्री जोशीले गोर्खा सैनिकहरुको साहस, इमान्दारिता र वीरताले बेलायतसँगको सम्वन्ध सुदृढ तुल्याएको उल्लेख गर्दै बेलायतले नेपालको आर्थिक र सामाजिक विकासमा पुर्‍यायाएको योगदानको प्रशंसा समेत गरेका थिए ।

बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमणकाक्रममा आफूले गोर्खा सैनिकका केही गाउँ पुग्ने अवसर पाएको बताउँदै ह्यारीले गोर्खा सैनिकहरुको दृढ चरित्र कसरी बन्छ भन्नेकुरा आफूले बुझ्ने मौका पाएको उल्लेख गरे ।


आफ्ना पिता चार्ल्सको जस्तै ब्रिगेड अफ गोर्खाजसँग ४० वर्ष लामो सम्बन्ध नभएपनि आफूले गोर्खा सैनिकहरुसँगको सम्बन्धबाट खुशी र गर्व महशुस गर्ने गरेको उनले बताए ।

राजकुमार ह्यारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा पनि गरे । ह्यारीले अफगानिस्तानमा गोर्खाहरुसँगै बसेर पिरो खसीको मासु खाएको क्षण स्मरणीय भएको बताए ।

उनले आफू मात्र गोर्खा सैनिकसँग प्रभावित नभइ बेलायती रानी र नागरिकहरुले समेत सम्मान गर्ने गरेको प्रसंग पनि गरे ।
ह्यारीले गत हप्ता आफ्ना बाबुको साथ बहादुर गोर्खा जवानहरुलाई राजदरबारमा पदक दिएको समेत सम्झिए ।
ब्रिटेनमा गोर्खालीहरुप्रति उच्च सम्मान रहेको कुरा दुई वर्ष अघिको भूकम्पपछि चलाइएको सहयोग संकलन अभियानमा ब्रिटिश जनताले देखाएको सहभागिताबाट प्रष्ट भएको उनले बताएका थिए।
ह्यारीले नेपालमा किशोरी तथा महिलाहरुको सशक्तिकरण तथा बाल विवाह एवं महिला हिंसा विरुद्ध कामहरु भइरहेका सुन्दा आफूलाई खुसी लागेको बताए ।
राजकुमार ह्यारीले आउँदा कैयौं शताब्दीहरुसम्म पनि नेपाल र ब्रिटेनबीच निकट सम्बन्ध तथा मित्रता कायम रहिरहने विश्वास व्यक्त गरे । आफूले पोहोर साल लगाएको टिका मेटिन नपाउँदै फेरि नेपाल पुग्ने आफ्नो इच्छा रहेको पनि उनले जनाएका थिए।
राजकुमार ह्यारीले पानसमा दीप प्रज्वलन गरि उक्त समारोह उद्घाटन गरेका थिए । उनले दूतावास हलमा भिक्टोरिया क्रस ९भिसी० प्राप्त गर्ने १३ भूपू गोर्खाहरुको तस्वीर अनावरण समेत गरे ।
उक्त अवसरमा राजकुमार ह्यारीको स्वागतार्थ गोर्खा ब्रिगेड व्याण्डबाट संगीत प्रस्तुत गर्नुका साथै गोर्खा सैनिकहरुले खुकुरी नाच देखाएका थिए । साथै नेपालको हिमाल, पहाड र तराइ मधेसको संस्कृति झल्कने विभिन्न नेपाली नृत्य समेत प्रस्तुत गरिए ।
उक्त विशेष समारोहमा बेलायती रक्षामन्त्री मार्क ल्यान्केस्टर, बेलायती सेनाका डेपुटी कमाण्डर इन चिफ, बेलायती सांसद, मन्त्रालयका उच्च पदस्थ कर्मचारी, विभिन्न देशका राजदूत, मेयर लगायत सयौं नेपालीको सहभागिता थियो ।
लन्डनस्थित नेपाली दूतावासले गत १४ मार्च देखि साताव्यापी कार्यक्रम अन्तर्गत पुस्तक, फोटो तथा चित्रकला प्रदर्शनी, व्यापार तथा लगानी सम्मेलन, नेपाली कला, साहित्य र संगीत महोत्सव, बेलायत नेपाल सम्बन्धबारे बौद्धिक अन्तर्क्रिया जस्ता गतिविधि आयोजना गरेको थियो ।

प्रतिक्रिया

TOP