२९ चैत, एजेन्सी ।
आणविक बम खसारले दोस्रो विश्व युद्धमा ध्वस्त बनाएको जापानको हिरोसिमामा अमेरिकाको अहिलेसम्मकै उच्च अधिकारीले भ्रमण गर्ने भएका छन् ।
आगामी साता जापानमा हुने जी–७ का विदेशमन्त्रीहरुको सम्मेलनका क्रममा अमेरिकी विदेशमन्त्री जोन केरी सहित सातवटै देशका विदेशमन्त्रीहरुले हिरोसिमाको भ्रमण गर्ने भएको जापानी समाचार संस्थाहरुले बताएका छन् ।
जापानी विदेशमन्त्री फुमियो किशिदा तथा अमेरिकी विदेशमन्त्री जोनकेरीसँगै बेलायत, क्यानडा, फ्रान्स, जर्मनी र इटालीका विदेशमन्त्रीहरुले अप्रिल ११ तारिखका दिन हिरोसिमामा रहेको ‘पिस मेमोरिल पार्क’ र संग्रहालयको भ्रमण गर्दैछन् ।
जोन केरी दोस्रो विश्वयुद्धपछि हिरोसिमाको भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी हुनेछन् ।
दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले ६ अगस्ट १९४५ मा हिरोसिमामा गराएको शक्तिशाली परमाणु बम विस्फोटमा १ लाख ४० हजार जापानीले ज्यान गुमाएका थिए ।
अमेरिकाले परमाणु बम खसालेको ७१ वर्षपछि अमेरिकाका उच्च अधिकारीले पहिलोपटक हिरोसिमा भ्रमण गर्न लागेका हुन् । उनले ‘पिस मेमोरियल पार्क’ मा मृतकहरुको सम्झनामा पुष्पगुच्छा समेत चढाउने बताइएको छ ।
जापानमा हुने जी–७ का विदेशमन्त्रीहरुको बैठकमा आतंकवाद, समुद्री सुरक्षा र परमाणु अप्रसारलगायतका विषयमा छलफल हुने बताइएको छ ।
हिरोसिमाका मेयर काजुमी मात्सुईले जी–७ का विदेशमन्त्रीहरुको भ्रमण परमाणु बमबारीले पारेको असर र जापानले त्यसबाट बाहिर आउन गरेको संघर्ष देखाउने मौका भएको उल्लेख गरेका छन् ।
17.12¡ÆC