२ भदौ, भक्तपुर ।
मध्यपुर थिमिको नगदेशमा यसवर्ष महाकाली नाच प्रर्दशन हुने भएको छ । आर्थिक अभावका कारण विगत सात वर्षअघि बन्द भएको यो नाच युवाहरु कै सक्रियतामा यसवर्षदेखि पुनः प्रदर्शन गरिने भएको हो ।

विसं. २०६६ सालदेखि यो नाच बन्द भएको यो नाच परम्परा अनुसार यही भदौ ४ गतेदेखि अर्थात गाईजात्राको भोलिपल्टदेखि चारदिनसम्म हरेक दिन बेलुकी नगदेशको विभिन्न स्थानमा प्रदर्शन गरिनेभएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताउनुभयो

मल्लकालिन नाचका रुपमा रहेको महाकाली नाचमा प्रदर्शनीका लागि करिब आठदेखि १० लाख रुपैया खर्च हुने र उक्त रकम कुनै पनि निकायले उपलब्ध गराउन नसके पछि विगत सात वर्षदेखि बन्द भएको उहाँले बताउनुभयो ।

महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल्, अग्नि वायु, भूकम्प, चट्याङ्भय, चोरको भय नहुने जनविश्वास रहेको छ । यो नाचको सुरुवात र समापनमा विशेष पूजाआजा गरिन्छ ।

काठमाडौं,भदौं २ । नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर विजयी हुनुभएको छ । मनोजमणि आचार्यलाई १ सय ६४ मतले पछि पार्दै महर नेविसंघको अध्यक्षमा विजय हुनुभएको हो । बिहीबार सम्पनन्न मत परिणाम अनुसार महराले १४९२ मत ल्याएका थिए । उहाँको निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याएका छन्। यस्तै महामन्त्रीमा कुन्दनराज काफ्ले र सरोज थापा विजयी भएका छन् । प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भएका छन्। प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन्।

नुवाकोट,भदौं २ । नुवाकोटबाट बिद्यार्थी नेता जयराम दाहाल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औ महाधिबेशनमा विजयी भएका छन् । लामो समयपछी भएको अधिबशेनमा नुवाकोटबाट दाहाल केन्द्रिय सदस्यमा बिजयी भएका हुन । नुवाकोटबाट धेरै बिद्यार्थी नेताहरुले पदाधीकारी लगायत अन्य पदमा निर्बाचनमा भाग लिएपनि दाहाल मात्र बिजयी भएका हुन । प्रदेश नं ३ बाट केन्द्रिय सदस्यमा उमेद्वारको रुपमा प्रस्तुत भएका दाहालले पहिलो मत ल्याएर बिजयी भएका हुन ।

२ साउन, टोकियो ।
यस बर्षको सर्वाधिक चर्चा र लोकप्रिय बनेको नेपाली चलचित्र कालो पोथी जापानमा पनि प्रदर्शन हुने भएको छ ।

चलचित्र कालो पोथीलाई जापानमा टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टले प्रदर्शन गर्न लागेको हो । गतवर्ष बहुचर्चित सफल चलचित्र कबड्डी कबड्डीको सफल प्रदर्शन गरेको टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टले कालो पोथीलाई जापानमा प्रदर्शनको अनुमति पाएको हो ।

टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टकी अन्जु श्रेष्ठले दिनुभएको जानकारी अनुसार चलचित्र कालो पोथी आगामी सेप्टेम्बर २५ तारिखका दिन प्रदर्शन हुने भएको छ । चलचित्र नाकानो जिरो हल नाकानो कु मा साँझ ५ ः ३० बजेबाट प्रदर्शनको समय तय गरिएको छ ।

चलचित्रको टिकट छिट्टै बुकिगं खुलाउने जनाउँदै श्रेष्ठले चलचित्र प्रदर्शन हुने खवर सार्वजनिक पछि जापानमा रहनुभएका धरै व्यक्तिले चलचित्र टिकटको लागि सम्पर्क गर्न थालेको बताउनुभयो ।

चलचित्र कालो पोथी, अमेरिका अष्टेलिया सहित युरोपका दर्शन बढी देशमा प्रदर्शन भइसकेको छ भने आधा दर्जन देशमा प्रदर्शनको तयारी भइरहेको छ ।

अन्तराष्ट्रिय भेनिस फिल्म फेस्टीवलमा क्रिटिक्स अन्र्तगत उत्कृष्ठ चलचित्रको पुरस्कार जित्न सफल चलचित्रलाई मिन बहादुर बमले निर्देशन गर्नुभएको छ ।

काठमाडौं,भदौं २ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षमा लक्ष्यको झन्डै शतप्रतिशत संख्यामा अन्तरराष्ट्रिय उडान गरेको छ । निगमले वर्षभरिमा २ हजार ७६६ उडान गर्ने लक्ष्य राखेकामा २ हजार ७३६ उडान गर्न सफल भएको हो । यो लक्ष्यको ९८ प्रतिशत हो । बारम्बार उडान स्थगित हुँदा वार्षिक उडान लक्ष्य पूरा गर्न असफल हुँदै आएको निगम अन्ततः लक्ष्यनजिक पुग्नुलाई यात्रु तथा पर्यटन व्यवसायीहरूले उत्साहजनक रूपमा लिएका छन् ।

उडान संख्याजस्तै निगमले राखेका धेरैजसो लक्ष्यको परिणाम सकारात्मक देखिएको छ । निगम स्रोतकाअनुसार २०४६ पछि पहिलोपटक निगमको समग्र नतिजा लक्ष्यनजिक पुगेको हो । विगतका वर्षहरूमा पुराना दुई जहाजको भरमा व्यवसाय गर्दै आएको निगम नयाँ जहाज खरिदसँगै वार्षिक प्रक्षेपण तथा लक्ष्यनजिक पुगेको हो । “हामी आर्थिक वर्ष ०७२/७३ का अधिकांश सूचकांकमा लक्ष्यनजिक पुगेका छौं,” प्रवक्ता रामहरि शर्माले भने, “दुई वर्षअघि एयरबस खरिद गरेर उडान सुरु गरेसँगै प्रायः क्षेत्रमा हाम्रा लक्ष्यहरू पूरा हुने क्रममा छन् ।”

निगमले गत आवमा ३ लाख ९८ हजार अन्तरराष्ट्रिय यात्रुलाई सेवा दिने प्रक्षेपण गरेकोमा ३ लाख ४४ हजार यात्रुलाई सेवा दिएको छ । यो लक्ष्यको ८६ प्रतिशत हो । निगमले चालू आर्थिक वर्षमा भने ४ लाख ५० हजार यात्रु बोक्ने प्रक्षेपण गरेको छ भने २० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

निगमले गत आवमा लक्ष्यको ६५ प्रतिशत मात्रै आम्दानी गरेको छ । १६ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकामा ११ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तै, १३ अर्ब २९ करोड रुपैयाँ खर्च गर्ने अनुमान गरेकोमा १० अर्ब ५२ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । “निगमले जतिसक्दो कम खर्च गर्ने रणनीति अपनाएकाले खर्च कम गर्न सकेका हौं,” प्रवक्ता शर्माले भने । आजको कारोकार दैनिकमा खबर छ ।

काठमाडौं,भदौं २ । सत्ता साझेदार दल नेपाली कांग्रेसले आइतबारभित्र मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाउने भएको छ । पार्टीभित्रको भागबण्डा नमिल्दा रोकिएको मन्त्री छनोटलाई सहमतिका आधारमा अन्तिम रूप दिइ शनिबारसम्म बुझाउन सभापति शेरबहादुर देउवाले आन्तरिक गृहकार्य तिब्र पारेका छन् । कांग्रेसले शक्तिशाली भातृ संगठन नेविसंघ अधिवेशनलाई कारण देखाएर मन्त्री छनोट हुन नसकेको बताउँदै आएको छ । नेविसंघमा निर्वाचनबाट नयाँ नेतृत्व छनोट सुरू गरिसकेकाले सभापति देउवाले मन्त्रीहरूको सूची बनाउन लागेका हुन् । स्रोतका अनुसार कसलाई कुन मन्त्रालय दिन पनि देउवा मानसिक रूपमा तयार भइसकेका छन् ।

मन्त्री छनोटको सूचीमा परेकाले उनले फोन गरेर संकेत दिएको उनी निकट एक नेताले बताए । स्रोतका अनुसार पौडेल पक्षलाई चारदेखि पाँच मन्त्री दिने निष्कर्षमा उनी पुगेका छन् । पौडेल पक्षले कम्तिमा ५ मन्त्री पाउनुपर्ने माग राख्दै आएको छ । पौडेल पक्षबाट पठाइने नाम पनि लभगभ तयार भइसकेको छ । पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवि यादव, डा। शेखर कोइराला मन्त्री बनेर जाने निश्चित भइसकेको छ ।

स्रोतका अनुसार गृह नपाएपछि चिढिएका अर्जुननरसिंह केसीलाई शिक्षा मन्त्रालय दिएर फकाउने प्रयास भइरहेको छ । तर, केसी स्वंयले शिक्षा पाए मन्त्री बन्ने संकेत सभापति देउवालाई दिइसकेका छन् । सुरुमा माओवादी केन्द्रको भागमा परेको शिक्षा मन्त्रालय केसीकै कारण कांग्रेसले लिन खोजेको हो । केसीले शिक्षा रोजेका कारण सभापति देउवाले माओवादी मन्त्रीले सपथ ग्रहण गर्नु केहीबेरअघि प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर शिक्षा कांग्रेसलाई राख्न आग्रह गरेका थिए ।

शिक्षाको ठाउँमा माओवादीले स्वास्थ्य मन्त्रालय पाउने भएको छ । सभापति देउवाले केसीलाई रक्षा मन्त्रालय दिने मानसिकता बनाएको भए पनि उनले अस्वीकार गरेका कारण सो मन्त्रालयको जिम्मेवारी अब बालकृष्ण खाँणलाई दिने तयारी भइरहेको छ । देउवाले यसको संकेत खाँणलाई दिइसकेका छन् ।

आफ्ना विश्वासपात्र खाँणलाई पहिलो चरणमै मन्त्री बनाउने उनको चाहना भए पनि पार्टीभित्रको विवादबढेपछि सफल भएको थिएन । यसैगरी, देउवाले कर्णालीबाट जीवन शाही, मधेसबाट फरमुल्लाह मन्सुर र जनजातिबाट भीष्म आङदम्बेलाई मन्त्री बनाउने सोच बनाएका छन् । ओखलढुंगाका सांसद रामहरि खतिवडालाई पनि राज्यमन्त्री बनाउने उनको योजना छ । आजको राजधानी दैनिकमा खबर छ ।

काठमाडौं,भदौं २ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको शास्त्रहरूमा उल्लेख छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

आजकै दिन तागाधारीहरुले आफ्नो जनै (यज्ञोपवित) फेर्छन् । यसका लागि हिजैदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीहरुले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।

यस किसिमको महत्व भएकाले नै आज बिहानै यजमानहरु आफ्ना गुरु पुरोहितकहाँ गई यज्ञोपवित मन्त्रने गर्दछन् । आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोग गरिन्छ । कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको यज्ञोपवित फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ ।

आजकै दिन शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो । आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ ।

आजका दिन एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

आज काठमाडाैंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्छ ।

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ । आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गर्छन् ।

बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतमबुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललितविस्तरमा यससम्बन्धी विस्तृत रुपमा व्याख्या गरिएको छ । यसैका कारण आज स्वयम्भूमा पनि विशेष मेला लाग्ने गर्दछ ।

काठमाडौं,भदौं २ । रसुवागढी नाकाबाट चीन प्रवेशका लागि मल्टी इन्ट्री भिसा दिने तयारी गरिएको छ । हालसम्म चिनियाँ पक्षले व्यावहारिकता हेरेरमात्र नेपालीलाई प्रवेश दिँदै आएको छ । काठमाडौंबाट एक सय ५५ किलोमिटर दूरीमा रहेको रसुवागढी नाका नेपाल चीन प्रवेशको छोटो र हाल सञ्चालनमा रहेका ठूलो नाका हो । यो नाकाबाट गत वर्षदेखि आयातनिर्यातका लागि नाका औपचारिक रुपमा सञ्चालनमा गरिएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।

हाल सिन्धुपाल्चोकको तातोपानी नाका बन्द रहेको अवस्थामा रसुवागढी नाका मात्र सञ्चालमा छ । नाकाबाट सहज व्यवस्थापका लागि नेपाल र चिनियाँ पक्षसँग छलफल जारी रहेको रसुवा प्रशासनले जनाएको छ ।

नेपालीले चीनबाट मल्टी इन्ट्री भिसा पाएपछि द्विपक्षीय व्यापारमा बढोत्तरी आउने विश्वास गरिएको छ । चीनले दिने भिसा प्रक्रियाका लागि धुन्चेमा रहेको प्रशासनमा सर्वपक्षीय बैठक भइसकेका छन् । चीनले दिने इन्ट्री भिसा अवधि ६ महिनाको हुनेछ ।

काठमाडौं,भदौं २ । प्रहरी मुठभेडमा मारिएको दाबी गरिएका गुण्डा नाईके दिनेश अधिकारी चरीको घटनाको प्रतिशोध साँध्न चलचित्र निर्माता रोज राणा भनिने सरोज थापा उपर आक्रमण भएको खुलेको छ। गुण्डा नाईके चरीको ब्यवसायीक साझेदार रहेका रोजले कारोबार अन्तर्गत दिनुपर्ने रकम नदिएको र चरीको मुठभेड गराउन सहयोगी भूमिका खेलेको आरोपमा आक्रमण भएको खबर आजको नागरिक दैनिकमा दीपक खरेलले लेखेका छन्। रोजलाई आक्रमण गर्ने दुईजना पक्राउ परेपछि प्रहरी अनुसन्धानमा चरीको मुठभेडपछि फरार रहेका गुण्डा नाईकेको नाम बाहिर आएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेका दुबले आक्रमणकारीलाई भारतमा बस्दै आएका जोधा भन्ने रत्न बहादुर लामाको निर्देशनमा घटना भएको बयान दिएका हुन्।

महाशाखाका अनुसार जोधाकै योजनामा भक्तपुरका मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामाले दिनभर रोजको पिछागर्दै सोमबार मध्य बानेश्वरमा खुकुरी प्रहार गरेका हुन । प्रहरी हिरासतमा रहेका दुबै चरीको समुहमा रहेका ब्यक्ती हुन । चरीसँगै नयाँ बजार क्षेत्रमा सक्रिय दुबैलाई भारतको पश्चिम बंगाल सिलगुडीमा बस्दै आएका जोधाले आक्रमणका लागि रकम समेत उपलब्ध गराएको महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले रोज र जोधाकाबीचमा विगतमा रहेको कारोबारका कारण आक्रमण भएको अनुसन्धानमा देखिएको बताए । उनका अनुसार आक्रमणकारीलाई रोजको हत्या वा अंगभंगका लागि जोधाले ३० लाख रुपैयाँ दिने बाचा गरेको आक्रमणमा संलग्नले प्रहरीमा बयान दिएका छन ।

प्रहरी अनुसन्धानमा जोधाले समूहका प्रजापतिलाई ३ महिना पहिला भारतको सिलगुडीमा बोलाई आक्रमणको योजना बनाई तत्काल पेश्की स्वरुप ५० हजार भारतीय रुपैयाँ दिएको खुल्न खुलेको छ। दोस्रो पटक करिव तीन हप्ता पहिला भारतबाट निज जोधा भन्ने रत्न बहादुर लामा नेपाल आई प्रजापतिको घरमा गई थापालाई आक्रमणका लागि ३० हजार रुपैयाँ दिएको र काम भए पश्चात ३० लाख दिने र भविष्यमा समेत सहयोग गर्ने प्रलोभन समेत दिएको अनुसन्धानबाट खुलेको हो ।

महाशाखाकै कारवाहीमा २०७१ साउन २१ मा मारिएका दिनेश अधिकारी चरीको हत्यापछि उनको समूह तितरबितर भएको थियो । समूहका सदस्यले खुलेरै रोजले प्रहरी अधिकारीसँग मिलेर चरीको मुठभेड गराएको आरोप लगाउदै आएको छ।

काठमाडौं,भदौं २ । ऊर्जा मन्त्री जनार्धन शर्माले विद्युत महसुल नतिर्ने ठूला ग्राहकको लाइन तीन दिन भित्र काट्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। प्राधिकरणको ३१ औं वार्षिकउत्सवको अवसरमा गरिएको कार्यक्रममा मन्त्री शर्माले बख्यौता रहेका १० ठूला ग्राहकको लाइन तीन दिन भित्र काट्न निर्देशन दिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

उमेरले भर्खर १८ मात्र टेकेका राजेश सामाजिक सञ्जालमा उनको स्वरकै कारण चिनिन्छन् । स्वस्फूर्त रुपमा गित गाउँदै सामाजिक सञ्जाल फेसबुकमा गित राख्ने गरेका राजेश सबैले स्वरको तारिफ गरेपछि थप हौसिएर गित रेकर्ड सहित एल्बम निकाल्ने सुरमा कस्सिएका छन् ।

खलनायक चलचित्रको मागेर पाउने भए म बोलको गित विद्यालयको एक कार्यक्रममा कक्ष ८ मा पढ्दा गाउँदा सबैबाट पाएको वाहवाही ले नै अहिलेसम्म राजेशलाई गायनमा लाग्न झकझक्याइरहेको छ ।
राजेश खत्री भन्छन् एकपटक गाएको त्यो गितपछि मैले यती वाहवाही पाएँकी त्यसपछि विद्यालय र गाउँमा हुने हरेक कार्यक्रममा मलाई गित गाउन बोलाउने गर्थे ।

कर्मको शिलशिलामा हाल जापानमा रहेका राजेश कामले गर्दा पढाईलाई विश्राम दिएर काम र संगितको स्व साधनामा लागेका छन् ।

पछिल्लो समय गित रेकर्ड गरेर युट्युवमा समेत राख्न थालेका राजेश भिडियो हेरेर स्वर सुनेर सबैले सकारात्मक प्रतिक्रिया दिएपछि गित रेकर्ड गराउने सुरमा लागेका छन् ।

टपनेपालन्युजडटकमसँगको कुराकानीमा राजेशले भने-'दशैं पछितिर नेपाल जाने तयारीमा छु म सँग लोक आधुनिक र पप गितहरु आफैंले तयार पारेका संगित भरेको गित छ सायद म एल्बमको लागि गित रेकर्ड गरेर आउँछु नभएपनि गित रेकर्ड गरेर आउँछु ।'

हाल डिसिनेपालले गरेको एक गायन प्रतियोगितामा नोमिनेसनमा समेत परेका राजेशले आधा दर्जन बढी गित फेसबुकमा ड्वेलसाउण्डमा खाराओके खाएर राखेका छन् । हजारौंले हेरेको कभर गितलाई युट्युवमा पनि तपाईले तल हेर्न सक्नुहुनेछ ।

फेरीपनि पढाईलाई निरन्तरता र संगितमा साधना गरेर यसैलाई कर्म बनाउने प्रण गरिरहेका राजेश गायन क्षेत्रका एक अग्रज कलाकारको साथ खोजिरहेको बताउँछन् । भन्छन् कोही सिनियर गायक वा संगितमा लागेको मान्छे पाए उहाँले मलाई गाईड गरिदिनुहुन्थ्यो जसले गर्दा मैले सिक्दै र अघि बढ्न सजिलो हुनेथियो ।

परिवारबाट सहयोग, साथिभाईबाट हौसला पाइरहेका राजेशले जापानमै केही महिना अघि भएको एक कार्यक्रममा सयौं नेपाली माझ स्टेजमा पहिलो पटक गित गाउने अवसर समेत पाएका थिए ।

पहिलो पटक स्टेजमा गाएको गितमा वान्समोर पाएपछि म यस्यो गित गाउँछु बोलको गित आएका राजेश यस्तै हौसला र सकारात्मक प्रतिक्रिया पाइरहे सँधै यसरीनै गित गाइरहने बिचारमा छन् । शुभकामना युवा प्रतिभाका रुपमा प्रवासमा रहेरपनि नेपाली संगितमा लगाव र पाइला चालिरहेका राजेशलाई ।

काठमाडौं,भदौं १ । प्राईम कलेजले चौथो जेभियर इन्टरनेश्नल अन्तर कलेज यू–१९ बास्केटबल प्रतियोगिमा बुधवार रोमाञ्चक जित निकालेको छ । कालोपुल स्थित आयोजक जेभियर इन्टर नेश्नल कलेजको कोर्टमा भएको पुरुषतर्फको उद्घाटन खेलमा प्राइमले आयोजक जेभियरको ए टिमलाई ४६–५१ अंकले पछि पार्यो । निधारित ४ क्वाटरको खेल ३९–३९ को वरावरी सकिए पछि थप गरिएको ४ मिनेटको समयलाई सदुपयोग गदै प्राइमले बाजी मारेको हो । प्राइमको जितमा दोर्ज लामाले १२ स्कोर गरे । पुरुषतर्फको अन्य खेलमा रिलायन्स र हिमालयनले सफलता हात पारे । रिलायन्सले आयोजक जेभियरको बी टिमलाई ३७–३१ अंकले पछि पार्दा हिमालयनले ज्ञाननिकेतनलाई ६१–२६ अंकको फराकिलो अन्तरले हरायो ।

रिलायन्सको जितमा सुदिप मगरले १० स्कोर गर्दा हिमालयनका सुम¨ बोगटीले २२ स्कोर गरे । त्यस्तै महिलातर्फको खेलमा आयोजक जेभियरले एनसीसीएसमाथी ४३–१८ को सहज जित निकालेको छ । जेभियरको जितमा कर्म छुदि¨ शेर्पाले सवार्धिक १३ स्कोर गरिन् । महिलातर्फनै साइपालले प्राईमलाई ३७–१६ अंकले पछि पार्यो । आयोजक कलेजका कार्यकारी प्रमुख लोकबहादुर भण्डारीले उद्घाटन गरेको प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ७ टिमको सहभागिता रहेको छ । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगिता भाद्र १० गते सम्म चल्ने छ ।