मोदीलाई भेट्न नपाउँदै महतद्धारा प्रचण्डको भारत भ्रमण सफल भएको भन्दै यस्तो दाबी

१ असोज, नयाँदिल्ली ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण जारी रहेकै समयमा भ्रमण सफल भएको दाबी गरेका छन् ।

मन्त्री महतले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइ दिएको र यो भारत भ्रमण सफल भएको बताएका हुन् ।

भारतस्थित एक होटलमा नेपाली पत्रकारहरुसगँ कुराकानी गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भ्रमणको मूल लक्ष्य सद्भावना र सहयोग बढाउने रहेको र त्यसमा त्यसमा भ्रमण टोली सफल भएको तर्क गरे ।

भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा महतले भारत सरकार, राजनीतिक दल र जनताको तहमा पनि प्रधानमन्त्रीको भ्रमणबाट उच्च उत्साह देखिएको बताए । यो भ्रमणले दुई देशबिचको सम्बन्धमा नयाँ आयाम स्थापित गर्नेमा आफु आशाबादी रहेको महतको भनाई छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित भएको द्विपक्षीय वार्ताबारे जानकारी दिँदै महतले विगतमा भएका सम्झौता एवम् प्रतिबद्धतालाई निश्चित समय सीमाभित्र कार्यान्वयनमा ल्याइने र त्यसका लागि दुई देशबीचमा भएका मन्त्री, सचिव एवम् प्राविधिकस्तरीय संयन्त्रलाई क्रियाशील गराउने प्रतिबद्धता व्यक्त गरिएकाले पनि आगामी दिनमा विकासको विषयले प्राथमिकता पाउने उनको दाबी थियो ।

परराष्ट्रमन्त्री डा महतले भारत सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएको एक विलियन डलरमध्ये ७५० मिलियन डलर सहुलियत ऋण र सहुलियत ऋणको सेवा र सामग्री ७५ प्रतिशत भारतको हुनुपर्ने व्यवस्थालाई हटाएर सहज बनाउने सहमति भएको पनि जानकारी दिए ।

ढल्केबरमा सबस्टेसन बनाउने कुरामा सहयोग गर्ने, तराई हुलाकी राजमार्गमा दोस्रो चरणको महत्वपूर्ण आयोजनामा सहुलियत ऋण दिने र ४०० केभी टान्समिसन लाइन गोरखपुर– बुटवललाई पनि अगाडि बढाउने सहमति भएको पनि उनको भनाई छ ।

पञ्चेश्वर आयोजना अगाडि बढाइने र विद्युत् व्यापारमा सहज पहुँचलाई पनि द्विपक्षीय मन्त्रिस्तरीय संयन्त्रले त्यसलाई टुङ्ग्याउने सहमति भएको, सीमा सुरक्षाका सन्दर्भमा थप सहजीकरण गर्ने, थप नाका खोल्ने, सिँचाइ आयोजना, लिङ्क रोडलाई विकसित गर्ने, रेल्वे लिंकलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्ने विषयमा कुरा अगाडि बढाइएको पनि मन्त्री महतको भनाई छ ।

संविधानका विषयमा भारत सरकारले पहिले नै स्वागत गरेको जिकिर गर्दै मन्त्री डा महतले लोकतन्त्रको सुदृढीकरणमा जाने प्रक्रियालाई सराहना गरेको भन्दै नेपालको संविधानको अहिलेसम्म स्वागत नगरेको भारतको बचाउ गरे ।

प्रधानमन्त्री दाहालको राजकिय भारत भ्रमणको तेस्रो दिन आज प्रधानमन्त्री दाहालले बिहानै व्यवसायीहरुसगं पनि भेटवार्ता गरेका छन् ।
भेटका क्रममा दुई देशबिचको व्यापार र बिकाससमबन्धि छलफल भएको थियो । प्रधानमन्त्री दाहाल हिमाञ्चलस्थित नाथ्पा झार्की लघु जलबिद्युत आयोजनाको अवलोकन सहितका कार्यक्रममा सहभागी भइरहेका छन् ।

जाजरकोटमा अरिङ्गालले चिल्दा ४ बालबालिकाको ज्यान गयो

१ असोज, जाजरकोट ।
जाजरकोटमा अरिङ्गालले चिलेर एक बालकको मृत्यु भएको छ । जाजरकोटमा यो सहित तीन सातामा अरिङ्गालको टोकाइबाट ४ बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको रामीडाँडा १, बयालाका विरेन्द्र बस्नेतका ३ बर्षिय छोरा शिव बस्नेतको मृत्यु भएको हो ।

घर नजिकै खेलीरहेका बालकलाई अरिङ्गालको गोलै खनिएर चिल्दा गंभिर घाईते भएका बालकको उपचारको क्रममा ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ । कसैले अरिङ्गालको गोलो चलाईदिएपछि उक्त घटना भएको हो ।

यस अघि पनि भेरीमालिका ७ पुन्मा २ र ढिमे ४ मा एक गरी तीन बालबालिकाको अरिङ्गालले चिल्दा ज्यान गैसकेको छ ।

शिव सहित दुई तीन सातामा अरिङ्गालले चिल्दा चार जनाको ज्यान गएको छ ।

यतिवेला अरिङ्गालले बच्चा उत्पादन गर्ने सिजन भएकोले गोला नचलाउन जाजरकोटका निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले बताउनु भयो ।

कुनैपनि बेला जापानमा शक्तिशालि विशाल ज्वालामुखी जाने बैज्ञानिकहरुको चेतावनी

१ असोज, काठमाडौं ।
बर्षौंदेखी अध्ययन गरिएका जापानका बैज्ञानिकहरुले एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै ६ लाख बढी नागरि बस्ने शहर नजिकको टापुमा विशाल शक्तिशालि ज्वालामुखीको चेतावनी दिएका छन् ।

कुनैपनि बेला जानसक्ने भनिएको यस्तो ज्वालामुखी जापानको काइयुस टापुको साकुराजिमामा क्षेत्रमा हो । युनिभर्सिटी अफ ब्रिस्टोलका अनुसन्धानकर्ताहरुले अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै तत्काल जान पनि सक्ने भन्दै आगामी तिस बर्षभित्रमा कुनैपनि बेला यस्तो विनाशकारी ज्वालामुखी विस्फोट हुने किटानी गरेका छन् ।

सेन्दाई आणविक भट्टीबाट ४९ किलोमिटर टाढा रहेको यो टापु कागोसिमा शहर नजिक रहेको छ ।
साकुराजिमामा पछिल्लोपटक सन् १९१४ मा ज्वालामुखी विस्फोट भएको थियो जसमा परि ५८ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका छन् ।

साकुराजिमा टापुमा बारम्बार सानातिना ज्वालामुखी अहिले पनि विस्फोट हुने गरेको छ । जन जनवरीमा पनि सानो ज्वालामुखी विस्फोट भएको उक्त क्षेत्रलाई बैज्ञानिकहरुले नजिकबाट अध्ययन गरिरहेको बताएका छन् ।

अध्ययन प्रतिवेदनमा अनुसन्धानकर्ताहरुले १९१४ को जस्तो ्म्याग्मा जम्मा हुन एक सय ३० वर्ष लाग्ने भन्दै त्यस्तो शक्तिशालि फिस्फोटको लागि म्याग्मा तयार भइसकेको बताएका छन् ।

मंगलबार प्रकाशित प्रतिवेदनमा सो क्षेत्रवरपर मानिसलाई नजान भनेका छन् । अध्ययनका मुख्य लेखक जेम्स हिकेका अनुसार प्रत्येक वर्ष सो टापुमा एक करोड ४० लाख क्युबिक मिटर म्याग्मा जम्मा हुने गर्छ । ‘म्याग्मा जम्मा भएको दर त्यहाँ हुने स–साना विस्फोटनभन्दा धेरै गुणा बढी रहेको छ ।

ब्रिस्टोल युनिभर्सिटी र साकुराजिमा भोल्कानो रिसर्च सेन्टरका वैज्ञानिकहरूले प्रतिवेदनमा उल्लेख गरेका छन् आगामी ३० वर्षभित्र मुख्य विस्फोट हुने खतरा छ । त्यसैले यसबाट सबै समयमै सचेत भएर संघावीत खतराजन्य स्थानबाट हट्नु पर्दछ ।

दशैं अवसरमा आजदेखि दैनिक उपभोग्य वस्तुमा छुट

१ असोज, काठमाडौं ।
आजदेखि सरकारले चिनी, नुनसहितका दैनिक उपभोग्य वस्तुमा छुटसहित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित २६ जिल्लामा उपभोक्तालाई छुट दिने गरी पसल सञ्चालनमा ल्याउने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए । ‘उपत्यकाका १३ स्थान र उपत्यका बाहिरका २३ स्थानमा उपभोक्ताले सहुलित पाउने छन्,’ प्रवक्ता रेग्मीले भने, ‘ ७८ प्रकारका खाद्यान्नमा छुट दिने व्यवस्था मिलाएका छौं ।’

चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा २, चामलमा १० रुपैयाँ छुट दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । चिनीमा साल्ट ट्रेडिङ, चामलमा खाद्य संस्थानमार्फत छुटको व्यवस्था मिलाइएको छ ।

शनिबारदेखि कात्तिक २१ सम्म उपत्यकाको रामसाहपथ, थापाथली, नक्खु, जावालाखेल, बल्खु, टेकु, कोटेश्वर, भक्तपुर सूर्य्विनायक, बूढानीलकण्ठ नारायणस्थान, बौद्ध, सतुङ्गल, नयाँ बानेश्वर, कालिमाटीमा साल्ट ट्रेडिङले सुपथ मूल्य पसल सञ्चालन गर्ने साल्ट ट्रेडिङका विभागीय प्रमुख ब्रजेशकुमार झाले बताए ।

‘हाम्रा सुपथ मूल्य पसलमा एक व्यक्तिले ३ किलो नुन र ६ किलोसम्म चिनी पाउनेछन्,’ उनले भने । त्यसैगरी, काभ्रेपलाञ्चोक, झापा, विराटनगर, सुनसरी, सिरहा, मकवानपुर, चितवन, कास्की, बागलुङ, रुपन्देही, कैलाली, कपिलवस्तु, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, डोटी, डडेलधुरा, कन्चनपुर, नुवाकोटमा पनि सूपथ मूल्य सञ्चालन गर्ने निर्णय गरेको छ ।

सरकारी संस्थानमार्फत मात्र नभएर किराना व्यवसायीमार्फत उपभोक्तालाई सहुलियत दिन सरकारको निर्देशनअनुसार नेपाल खुद्रा व्यापार संघलाई चिनीमा ५ रुपैयाँ छुट दिने गरी ५ हजार बोरा चिनी र ३ हजार बोरा नुन उपलब्ध गराइएको आजको नागरिक दैनिकमा समाचार छ ।

त्यसैगरी, नेपाल खाद्य संस्थानले चामल र गेडागुडीमा १० रुपैयाँ, दुग्ध संस्थानले घ्युमा १०, पनिरमा ५ रुपैयाँ किलोमा छुट दिने निर्णय भएको छ । यता निजी क्षेत्रको भाटभटेनी सुपरमार्केटले पनि आफ्ना बिक्री कक्षबाट ८४ प्रकारका दाल तथा गेडागुडी, ८९ प्रकारका मसला, ३ किसिमका नेपाली खाने तेल, २४ किसिमका चाामलसहित २ सय ६० वस्तुमा छुट दिने घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

बजारलाई सन्तुलित राख्दै कालाबजारीलाई निरुत्साहित गर्न विशेष बजार अनुगमन गरिरहेको मन्त्रालयले उपभोक्तालाई चाडबाडमा उपहारस्वरुप छुट दिने सरकारी मातहत छुट दिइने मन्त्रालयले जनाएको छ ।

दैनिक उपभोग्य वस्तु मात्र नभएर उपत्यका बाहिरबाट करिब २५ सय खसी, बोका र च्यांग्रा उपत्यकामा सहुलियत दरमा बिक्री गर्ने खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले बताए । चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको माग अधिक हुँदा व्यापारीले समेत सोही मौकामा कालोबजारी गर्ने गरेको घटनाबाट पाठ सिकेर सरकार पहिल्यै तयारीमा जुटेको छ । छुटलाई प्रभावकारी अनुगमन गर्न संयन्त्र बनाइएको प्रवक्ता रेग्मीले बताए ।

‘चाडपर्वका बेला हुने कालोबजारी, कृत्रिम अभाव, मूल्यवृद्धि, मिसावटलगायत नकारात्मक प्रवृत्तिलाई आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले नियमित अनुगमन गर्छ,’ उनले भने, ‘अनुगमन प्रभावकारी बनाउन पाँच टोली गठन गरेर परिचालन गरेका छौं ।’

सातदिन भित्र लोकमानसिंह कार्कीलाई नियुक्ती गरेको फाइल नबुझाए सर्वोच्चले कारवाही गर्ने

१ असोज, काठमाडौं ।
चरम विवादीत लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमूखमा नियुक्ती गरेको फाइल हराएको भनी हांस्यास्पद जवाफ दिने सरकारी अधिकारीलाई सर्वोच्च अदालतले फाइल बुझाउन सात दिनको समय दिएको छ ।

सर्वोच्च अदालतमा मुद्दा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्तिको फाइल भूकम्पमा हराएको बताउने सरकारलाई सो फाइल सात दिनभित्र पेश गर्न शुक्रबार सर्वोच्चले आदेश दिएको हो । सो फाइल समयभित्र नपठाए जरिवाना गर्ने समेत आदेशमा उल्लेख छ ।

सर्वोच्चको पूर्ण इजलाशले कार्कीको नियुक्ति सम्बन्धी यसअघिको निर्णयलाई सदर गर्ने निर्णयमा कानुनी त्रुटि रहेको औंल्याउँदै सर्वोच्च अदालतले त्यसको पुनरावलोकन गर्ने भन्दै सो आदेश दिएको हो ।

प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद  श्रेष्ठ र सपना प्रधान मल्लको पूर्ण इजलासले उक्त फैसलाविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले दिएको पुनरावलोकनको निवेदनमा निस्सा हुने आदेश दिएको हो ।

न्यायिक पद्धतिमा विरलै मात्रै निस्सा प्रदान गरिन्छ । सर्वोच्चले नै प्रतिपादन गरेको नजिर बाझिएमा, नयाँ तथ्य वा प्रमाण फेला परेमा, फैसलामा गम्भीर त्रुटि भेटिए निस्सा प्रदान गरी पुनरावलोकन हुने व्यवस्था छ ।

यो आदेशसँगै कार्कीको नियुक्तिको योग्यताको प्रश्नमा पुनस् संवैधानिक परीक्षण गरिने भएको हो । त्यसका लागि फैसलामा चित्त नबुझाउने व्यक्तिले ६० दिनभित्र सर्वोच्च अदालतमा निवेदन दिनुपर्छ । कार्कीको मुद्दामा अदालतले गरेको फैसला त्रुटिपूर्ण भन्दै २०७२ मंसिर १० गते निवेदन परेको थियो ।

पूर्ण इजलासले २०४१ साउन ९ देखि २०४७ असोज १९ गतेसम्म लोकमानसिंह कार्की कार्यरत राजप्रासाद सेवालाई विशेषज्ञताको योग्यतामा समावेश हुने गरी सर्वोच्च अदालतले यसअघि गरेको फैसला संविधानको मर्मअनुकूल नभएकाले उक्त फैसला पुनरावलोकन हुने आदेश दिएको हो । ।

नेपालको अन्तरिम संविधानमा अख्तियारको प्रमुख आयुक्त हुनका लागि लेखा, राजस्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा कम्तीमा २० वर्ष काम गरी अनुभव र ख्याति प्राप्त गरेको हुनुपर्ने’ उल्लेख छ । २०४७ असोज १९ गते निजामती सेवामा प्रवेश गरेका लोकमानसिंह कार्कीले २०६५ भदौ २५ गते राजीनामा दिएका थिए । १८ वर्ष पनि अनुभव नपुगेको अवस्थामा २०४१ साउनदेखि २०४७ असोजसम्मको राजप्रासाद सेवा अवधिलाई पनि गणना गरी २० वर्ष पुर्‍याएर कार्कीलाई नियुक्त गरिएको थियो ।

राजप्रासाद सेवा अवधि जोडिएको यही विवादको कानुनी व्याख्यासहितको फैसला त्रुटिरहित नदेखिएको भनी शुक्रबार पुनरावलोकनको आदेश भएको हो ।

२०७० वैशाखमा अख्तियारको प्रमुख आयुक्तमा कार्कीको नियुक्तिपछि त्यो कानुनविपरीत भएको दाबीसहित अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका थिए । उक्त रिटलाई सर्वोच्चका न्यायाधीशहरू गोपाल पराजुली र ओमप्रकाश मिश्रको संयुक्त इजलासले २०७१ असोज ८ गते खारेज गरिदिएको थियो ।

महिला सङ्घको नेतृत्वमा रेग्मी विजयी,देउवा पक्षधरका ३३ र सिटौलाका २३ निर्वाचित

काठमाडौं,असोज १ । नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी विजयी भएकी छन्। शुक्रबार राति सकिएको मतदान लगत्तै भएको मतगणनामा रेग्मी निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेलाई दुई सय दुई मतान्तरले पराजित गर्दै विजयी भएकी हुन्। रेग्मी शेरबहादुर देउवा र कृष्ण सिटौला पक्षधरको संयुक्त प्यानलकी उमेदवार हुन् । यस्तै महासचिवमा धना खतिवडा ९९८ मतले विजयी भएकी छन्। उनले निकटतम प्रतिद्वन्द्वी गोमा केसीलाई  हराएकी हुन्।

केसीले ७७६ मत प्राप्त गरिन्। कोषाध्यक्षमा जानकी सिंह ९११ मत प्राप्त गरी विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी कुसुमदेवी थापाले ८०३ मत प्राप्त गरेकी थिइन्। २ हजार १ सय १४ मतदाता रहेको उक्त निर्वाचनमा १ हजार ८ सय १४ जनाले मतदान गरेका थिए। कुल ५३ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए।

मधेसी मोर्चाले प्रधानमन्त्रीलाई अमेरिका जान नदिने

काठमाडौं,असोज १ । भारत भ्रमणमाबाट फर्किए लगत्तै अमेरिका जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी मोर्चाले अमेरिका नजान दबाब दिने भएका छन्। असोज २ गते भारत भ्रमणबाट फर्किए लगत्तै दाहाललाई देशभित्रको समस्या समाधान गर्नका लागि अमेरिक भ्रमण स्थगन गर्न दबाब दिने भएको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।

भारत भ्रमणअघि नै संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिएका प्रधानमन्त्रीले भ्रमणबाट फर्किएपछि मात्र संशोधन प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका थिए। भारत भ्रमण जानु अघिल्लो दिन प्रधानमन्त्रीले केही प्राविधिक समस्याले प्रक्रिया अघि नबढेको जानकारी मोर्चालाई दिएका थिए। तर भ्रमणबाट फर्किए लगत्तै प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

दाहालकै प्रतिवद्धता अनुसार अमेरिका भ्रमण स्थगन गराउन मोर्चाले दबाब दिने भएको हो।

भारतद्धारा संविधान स्वागत र समर्थन गर्न पुनः अस्वीकार

काठमाडौं,असोज १ । भारतले ‘समावेशी संवादमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गरेर मात्र नयाँ संविधान कार्यान्वयनमा ल्याउन नेपाललाई दबाब दिएको छ । संविधानलाई स्वागत र समर्थन गर्न नेपालले गरेको आग्रह उसले पुनः अस्वीकार गरेको छ । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संविधानमा असन्तुष्ट सबै पक्षका आकांक्षा समेट्न आग्रह गरे। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।

‘तपार्इं (पुष्पकमल दाहाल) नेपालको शान्तिका एक उत्प्रेरक शक्ति हुनुहुन्छ,’ नयाँदिल्लीमा शुक्रबार नेपाल–भारत द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘तपाईको बुद्धिमानी नेतृत्वमा समावेशी संवादमार्फत विविधताले भरिएको नेपाली समाजको सबै पक्षको आकांक्षा समेटी नेपाल संविधान कार्यान्वयन गर्न सफल हुनेमा म विश्वस्त छु ।’

भारतीय प्रधानमन्त्री मोदीले असन्तुष्ट पक्षको माग सम्बोधन गरी नयाँ संविधान कार्यान्वयनमा ल्याउन दाहालले गर्ने प्रत्येक प्रयासको सफलताका लागि शुभकामना पनि दिएका थिए । नेपाल–भारत द्विपक्षीय बैठक बस्नुअघि प्रधानमन्त्री दाहाल र मोदीले ‘वान अन वान’ वार्ता गरेका थिए । करिब आधा घन्टा भएको एक्लाएक्लै वार्तामा दाहालले भारतीय समकक्षीलाई नेपालको संविधानलाई स्वागत गर्न मनाउने प्रयास गरेका थिए । प्रधानमन्त्री दाहाल निकट स्रोतअनुसार मोदीले नयाँ संविधानको स्वागत गर्न अस्वीकार गरेका थिए ।

भेटमा मोदीले स्पष्ट रुपमा संविधानप्रति जो असन्तुष्ट छन्, तिनका माग सम्बोधन गर्न आग्रह गरेका थिए । उनले असन्तुष्ट पक्षका माग सम्बोधन गरे मात्र संविधान कार्यन्वयन हुने र नेपाल शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने दाहाललाई स्मरण गराएका थिए ।

दाहालले भने संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने प्रक्रिया आफूले सुरु गरिसकेको जानकारी गराएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले ‘अहिले तपाईंले चालेको कदम ठिक छ, साथमा छु,’ भनेका थिए ।

दाहाल र मोदीबीच ‘वान अन वान’ वार्ता सकिएपछि नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको थियो । बैठकमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका सबै पक्षमा संक्षिप्त छलफल भएको थियो । बैठकपछि नेपाल र भारतबीच तीनवटा समझदारीपत्र तथा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा राखेका थिए ।

‘हामी एकअर्काका उपलब्धिमा जसरी खुसियाली मनाउँछौं, अफ्ठेरो समयमा दुःख पनि बाँड्छौँ । हाम्रो सम्बन्ध सदियौंदेखि चलिआएको विशेष छ । नजिकको छिमेकी र घनिष्ट मित्रराष्ट्रका रुपमा नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने हाम्रो चाहना हो,’ संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने, ‘नेपालको विकास र आर्थिक समृद्धिको प्रत्येक कदममा हामी तपाईंहरुको साझेदार बन्न पाउँदा भाग्यमानी ठान्छौं ।’

लोकतन्त्र संस्थागत गर्न प्रधानमन्त्री दाहालले खेलेको भूमिकाको मोदीले प्रशंसा गरे । दाहालसँगको भेटवार्तालाई उनले उपलब्धिमूलक रहेको बताए । मोदीले स्पष्ट पारे, ‘नेपालसँग विकासको क्षेत्रमा सहकार्य गर्न र सहकार्यलाई मजबुत बनाउन भारत तयार छ । हामी गर्छौं पनि, नेपाली जनता र सरकारको प्राथमिकतामा पर्यौं भने ।’

नेपालको विकास साझेदार बन्ने उद्देश्यले नै शुक्रबार नेपाल–भारतबीच तीनवटा समझदारी तथा सहमतिपत्रमा हस्ताक्षर भएको उनले स्पष्ट पारे । नेपालको पुनर्निर्माणका लागि भारतले ७५ करोड अमेरिकी डलर (करिब ७९ अर्ब ५० करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण दिने सहमति शुक्रबार भएको छ । यो सहयोगले भूकम्पपीडित लाखौं नेपालीले राहत पाउने विश्वास उनले व्यक्त गरे ।

एनभीए कप राष्ट्रिय भलिबल: न्युडायमण्ड र एपीएफ सेमिफाइनल भिड्ने

काठमाडौं,भदौ ३१  । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लव र न्युडायमण्ड एकेडेमीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार भएको खेलमा ढोरपाटन स्पोर्टस् टे«ेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्युडायमण्डले एपीएफसंगको भेट पक्का गरेको हो ।

न्युडायमण्डले ढोरपाटनलाई २५–४, २५–१३ र २५–८ को सोझो सेटमा पाखा लगायो । महिलातर्फकै अर्को खेलमा एपीएफले जावलाखेल भलिवल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा नै पराजित ग¥यो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपीएफले जावलाखेललाई २५–११, २५–६ र २५–११ को सेटमा हरायो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहलमा शुक्रबार भएको पुरुषतर्फको खेलमा भारतीय खेलाडीहरुको बाहुल्यता रहेको हेल्प नेपालले नेपाल पुलिस क्लवलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पाखा लगायो । निकै प्रतिस्पर्धात्मक खेलमा बलियो प्रतिद्वन्द्वी पुलिसलाई पाखा लगाएर हेल्प नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । हेल्प नेपालले पुलिसलाई २५–१९, १८–२५, २५–१८, १८–२५ र २५–२३ ले पराजित गर्यो । अन्तिम सेटमा हेल्प नेपालको १३ र पुलिसको ११ को अवस्थामा हेल्प नेपालले रेफ्रिको निर्णय प्रति असन्तुष्टी जनाउदा केहि समय खेल रोकिएको थिए । रेफ्रिको निर्णयलाई स्वीकार गदै १३–१२ को अवस्थामा खेल पूनः सुरु भएको थियो ।  सघर्षपूर्ण जित हात पारे पछि हेल्प नेपालका कोच अरुण श्रेष्ठले भने– हाम्रो अपिल सहि थियो, तथापि रेफ्रिको निर्णयलाई स्वीकार गदै कोटमा उत्रिम । निकै लामो संघर्ष पछि जित हात पार्दा हामी उत्साहित भएका छौं । सेमिफाईनलमा अझ राम्रो खेल प्रदर्शन गर्ने श्रेष्ठले बताए ।

त्यस्तै पुरुषको दोश्रो क्वाटरफाईनल खेलमा एपीएफले प्रगतिशिल युथ क्लबलाई २५–१९,२५–१८ र २५–१५ को सोझो सेटमा हराउदै सेमिफाईनलमा हेल्प नेपालसग भेट पक्का गर्यो । शनिवार चार क्वाटर फाईनलका खेल हुने छन् । महिलातर्फको क्वाटरफाईनल खेलमा पुलिस र आर्मी तथा पश्चिमाञ्चल टप्स र काभ्रे जिल्ला भलिबल संघ प्रतिस्पर्धा गर्ने छन् । यस्तै पुरुषतर्फ आर्मी र मणीमुकुन्द तथा पश्चिमाञ्चल र ढोरपाटनबीच खेल हुने छ ।

लाखे नाचमा आएका एक युवा नारायणीमा बेपत्ता, बन्दिपुरे टोली फर्कियो

३१ भदौ, चितवन ।
पाचौं राष्ट्रिय लाखे नाच प्रतियोगितामा भाग लिन भोजपुरबाट आएको टोलीमध्यको एक बेपत्ता भएका छन् । नारायणी नदिमा नुहाउन गएका उनलाई नदिले बगाउदाँ बेपत्ता भएका हुन् ।

धरान घर भई हाल  काठमाडौं बस्ने १८ बर्षीय  सौगात मोक्तान लाई नारायणी नदिले बगाउदाँ बेपत्ता भएको र खोजी कार्यभइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख बसन्त कुवरले जानकारी दिनुभयो ।

हिजोबाट शुरु भएको लाखे नाचको प्रतियोगितात्मक कार्यक्रम आज हुदैंछ । प्रतियोगितामा ३२ टोलीबीच प्रतिस्पर्धा हुने मुल संयोजक निर्जनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

लाखे नाच आज पनि जारी
चितवनको नारायणगढमा हिजो सुरु भएको पाँचौँ राष्ट्रिय लाखे नाच प्रतियोगिता २०७३ आज पनि जारी छ । प्रतियोगितामा मोरङ, सुनसरी, खोटाङ, उदयपुर, धादिङ, तनहूँ, चितवन, गुल्मी, दाङलगायतले विभिन्न जिल्लाबाट ३२ समूह सहभागी भएका छन् । सहभागीहरुमध्ये बिहीबार १६ समूहले प्रतिष्पर्धा गरेका छ्न भने बाँकी समूहले आज ९शुक्रबार० प्रतिष्पर्धा गर्दैछन् ।

प्रतियोगितामा पहिलो हुने समूहलाई ७५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था समेत गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि १५ लाख ३४ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताको उद्घाटन एमालेका नेता एवंम पूर्वप्रधानमन्त्री झलनाथ खनालले गर्नुभएको थियो ।

उपाधी दाबेदार बन्दिपुरे टोली सहभागि नभई फर्कियो
चौथो जिल्ला स्तरीय लाखे नाच प्रतियोगितामा प्रथम भएको बन्दिपुरको टोली राती नै फर्किएको छ । आयोजकको निमन्त्रणामा राती ८ बजे चितवन आइपुगेको टोली प्रतियोगितामा नाम दर्ता गर्न नपाएपछि फर्किएको हो ।

टोलीका एक पुरेन्द्र श्रेष्ठले आयोजक आफैले बोलाएर नामै दर्ता गर्न नमानेपछि आफुहरु बस्नुको औचित्य नभएर फर्र्किएको बताउनुभयो । यसबारेमा लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालका अध्यक्ष राजेन्द्र कुमार पियासंग सम्पर्क गर्दा केही जवाफ दिन चाहनुभएन ।

लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालको आयोजनामा लाखे नाच हुन थालेको हो । कार्यक्रमको हिजो एक कार्यक्रमका बीच एमाले बरिष्ठ नेता झलनाथ खनालले उद्घाटन गर्नुभएको हो ।

घाटा भएपनि जिविकोको लागि चोयाँको काम गर्नेहरु पेशा अपनाउँदै

३१ भदौ, सल्यान ।
सल्यानमा चोयाँका विभिन्न सामाग्रि बनाएर बेच्नेहरु समस्यामा पर्न थालेका छन् । प्लाष्टीककाको बढ्दो प्रयोग संगै चोँयाबाट घरायसि प्रयोगमा आउने सामान बनाएर बेच्नेहरुको पेशा संकटमा पर्न थालेको हो ।

बाँसका चोयाबाट डोको, भकारी, थुन्से, डाली, नाङ्ला बनाउने गरेका धेरैजनाले पेशा छाड्नुपर्ने अवस्था आएको गुनासो गरेका छन् ।  चोयाका सामानहरुको ठाउँमा प्लास्टिकको सामान प्रयोग हुन थालेपछि र कम दुःख र सस्तो शुल्कमा समेत प्लाष्टीकका सामान पाइने भएकाले चोयाँका सामानको माग घद्दो क्रममा छ ।

तर पनि जिल्लामा अझै यसै पेशामा संघर्ष गर्नेहरु पनि रहेका छन् । हिजो आज पनि सल्यान घाँजरीपिपल वडा न २ का जुद्ध बहादुर डाँगीले बासँबाट निमार्ण हुृने विभिन्न सामाग्री निमार्ण गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

उहाँले प्लाष्टीकका सामानले आफ्नो पेशालाइ धरापमा पारेको भए पनि आफ्नो क्षेत्रमा यो पेशाबाट हातै धुनुपर्ने अवस्था अझै नआएको बताउनुभएको छ । बाँसबाट निमार्ण गरेका सामाग्री धेरै टिक्ने र आर्कषक समेत हुने भएकाले बाँसका सामाग्रिको महत्व निकै रहेको उहाँले जनाउनुभयो ।

उहाँले बाँसबाट निमार्ण हुने छिटनी, झापी, पुजा सामाग्री राख्ने टोकरी, डोको, अन्न राख्ने भकारी लगायतका सामाग्री निमार्ण गरेर आम्दानी गर्दै आउनुभएको छ । ६५ वर्षीय डाँगीले मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।

गाँउबाट एक घनाको ३०० का दरले बाँस किनेर पनि विभिन्न सामाग्री निमार्णबाट राम्रै आम्दानी भईरहेको डाँगीले बताउनुभयो ।

सांसदले मन्त्रीलाई जुत्ता हानेपछि

३१ भदौ, एजेन्सी ।
भारतमा एक सांसदले मन्त्रीलाई जुत्ताले हानेका छन् ।

भारत पञ्जावमा कांग्रेस विधायक तारलोचन सन्धुले राजश्व मन्त्री विक्रमसिंह मजिठियालाई बुधवार जुत्ता प्रहार गरेका हुन् ।

विधानसभामा विपक्षी दल र सरकारबीचको विवाद चुलिँदै गएपछि कांग्रेस सांसद तारलोचनले मन्त्री मजिठियामाथि जुत्ता प्रहार गरेको बताइएको छ ।

भारतीय सञ्चार माध्ययमहरुका अनुसार सरकारपक्ष र विपक्षीका बीच विवाद चर्कदै गएपछि कांग्रेसका सांसदले विधानसभाका सभामुख चरणजितसिंह अटवालमाथि डायरी प्रहार गरेका थिए ।

सभामुखमाथि आक्रमण सुरु भएपछि सभामुखको सुरक्षाका लागि घेरा हाल्न उभिएका राजश्व मन्त्रीमाथि सांसद तरलोचनले आफ्नै जुत्ता खोलेर प्रहार गरेका हुन् ।

मन्त्रीको अनुहार ताकेर जुत्ता प्रहार भएको भए पनि मन्त्रीलाई केही नभएको बताइएके छ ।

सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै कांग्रेस सांसदले सोमबार संसदमा अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

पञ्जावको विधानसभाले अविश्वासको प्रस्ताव बहुमतले रद्ध गरिदिएपछि कांग्रेस सांसद रुष्ट बनेका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web